काठमाडौं । शेष घले नेतृत्वको एकता महाधिवेशनकै तयारीका लागि भन्दै एनआरएनए अभियन्ताहरू काठमाडौँमा आईपुगेका छन्।
मे २ देखि ५ तारिखसम्म हुने महाधिवेशनलाई भव्य बनाउन रविना थापा, आरके शर्मा, विनोद कुँवर, पुष्प थापा, खगेन्द्र न्यौपाने, रोविन्द प्रसाद श्रेष्ठ, जानकी गुरुङ, गंगाधर गौतम, चिन्तामनी सापकोटा, वेद खरेल लगायतका एनआरएनएका अभियन्ताहरू काठमाडौं केन्द्रीत भएका हुन् ।
यस्तै अन्य एनआरएनए अभियन्ताहरू पनि काठमाडौं आउने क्रम जारी रहेको एक सदस्यले बताए ।
उसो त विश्वभरका कतिपय अभियन्ताहरूले टिकट बुकिङ थालिसकेका छन् भने उनीहरुले एकताको महाधिवेशन गरेर एनआरएनएलाई गति दिन आग्रह समेत गरेका छन् ।
संघभित्र एक समूहले असहयोग गरेपनि कानुनी रुपमा सबै अधिकार आफू निहीत भएको भन्दै एकता महाधिवेशनका संयोजक शेष घले उत्साहित छन् । गत आइतबार घलेको नेतृत्वमा १९५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । जसमा नेपाल सरकारका २ जना प्रतिनिधि रहेका छन् ।
सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, चैत २१ पछिको सर्वोच्चको दोस्रो फैसलाले आफूहरुले आधिकारिकता पाएको भन्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष चयन भएका बद्री केसीले भने घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएका छन् । तर, घलेले कानुनविद्हरुका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् ।
सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भएका छैनन् । यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए । उनीहरु स्वतः मुल आयोजक समितिमा रहेका छन् । यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिकासम्बन्धी क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ ।



