काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यदेश जारी गरेपछि नेपालीहरू मारमा परेमा छन्।
अवैध आप्रवासीलाई निष्काशन गर्ने निर्णय गरेसँगै नेपालीलगायत गैरकानुनी ढंगले अमेरिकाका विभिन्न स्थानमा बसेका आप्रवासीहरू त्यहाँको सुरक्षाकर्मीको निगरानीमा परेका छन्। अवैध आप्रवासी मात्रै निगरानीमा परेनन् उनीहरुलाई रोजगार दिने कम्पनीहरू समेत अमेरिकी सुरक्षाकर्मीको निगरानीमा छन्।
स्टुडेन्ट भिसामा अमेरिका गएका उनीहरूले काम गर्न नपाएपछि चिन्तित बनेको त्यहाँका नेपालीहरूले बताएका छन्। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) ले धरपकड गर्न थालेपछि नेपाली विद्यार्थीहरू काममा जान डराएको त्यहाँका नेपालीहरूको भनाइ छ। लुकिछिपी त्यहाँको कानुनले तोकेको भन्दा बढी समय काम गर्ने नेपालीहरू बढी मारमा परेका हुन्।
पढाइसँगै काम पनि गर्ने उद्देश्यले नेपालीहरू अमेरिका आउँछन्। बाँच्नका लागि भए पनि कानुनले तोकेको भन्दा बढी समय उनीहरू काम गर्न बाध्य छन्। तर, ट्रम्पको नयाँ नीतिले आप्रवासीहरूमाथि ठूलो धरपकड गरिएको छ। त्यही त्रासले नेपालीहरू चिन्तित बनेका हुन्। उनीहरू काममा समेत जान डराइरहेका छन् ।
गत साताको अमेरिकाले थप ४ जना जना नेपालीलाई निष्काशन गरेको छ। गत साताको अन्त्यतिर अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ४ जनालाई निष्काशन गरेको हो। निष्काशित हुनेहरूमा खत्री, खड्का, थापा र भट्टराई थर भएका पुरुष छन्। उनीहरू कहिले अमेरिका गएका हुन भन्नेबारेमा केही खुल्न सकेका छैन। अवैध रुपमा बसेको आरोपमा उनीलाई अमेरिकी सुरक्षा अधिकारीले पक्राउ गरेको हो।
अमेरिकाले उनीहरुलाई एयर इन्डियाको नियमित उडानबाट पठाएको छ। निष्काशित भएका खत्री र खड्का थर भएका व्यक्तिसँग राहदानीसमेत थिएन। भट्टराई र थापा थर भएका व्यक्ति भने आफ्नो राहदानीमा नै फर्किएका छन्। अमेरिकाले राहदानी नभएका दुई जनालाई ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो।
अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो।



