Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।

    उक्त आयोजनामा ऋण लगानी गर्ने गरी नेपाल राष्ट्रिय वाणिज्य बैंक र बुढीगण्डकी हाइड्रोपावर कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका सीईओ देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।

    images

    ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने सम्झौता भएको हो । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

    आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ । कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण घिमिरे र निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल र बिनोद थापालगायतको समूहले उक्त आयोजना निर्माण गर्न लागेको हो । हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । यो समूहले यसअघि नै तोकिएको अवधिभन्दा ६ महिनाअघि ४.५५ मेगावाटको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

    यो आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।

    आयोजना समयमै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बुढीगण्डकी कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले बताए ।

    ‘पहिला जलविद्युत् आयोजना निर्माणबारे ज्ञान थिएन, अहिले पेनस्टक पाइपदेखि सबैबारे थाहा भइसक्यो,’  कम्पनीका अध्यक्ष न्यौपानेले भने , ‘अहिले हाईड्रोपावरबारे अनुभव बटुलिसक्यौं ।’ आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गरेर क्याम्पहरू निर्माण भइसकेको समेत उनले बताए ।  

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार