काठमाडौं । भर्खरै मलेसिया पुगेको नेपालीहरुलाई अनलाईन सट्टेबाजीमा लगाएर ठग्ने क्रम बढेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसको निम्ति उनीहरुको बैंक खाताको दुरुपयोग हुने गरेको पनि दूतावासले जनाएको छ । मलेसियामा विदेशी कामदारको तलब कम्पनीले अनिवार्यरूपमा बैंकमा पठाउनुपर्ने व्यवस्था भएकोले यसरी खाताको दुरुपयोग हुने क्रम बढेको हो ।
यसअघि नेपाली कामदार लोट्टो र क्यासिनोको कुलतमा फस्ने प्रवृत्ति बढेकोमा हाल नयाँ कामदारको बैंक खाता अनुभवी नेपालीले दुरुपयोग गरिदिने प्रवृत्ति बढेको हो । कामदारको बैंक खात अनलाइन जुवाजस्ता स्कयाममा दुरुपयोग भएको पाइएको भन्दै दूतावासले आफ्नो बैंक खाता र पासवर्डको जानकारीसँगै एउटै कोठामा बस्ने साथीलाई पनि नदिन आग्रह गरेकोे छ ।
कहिलेकाहीँ केही रकम जितेर थप जित्ने लोभमा खाता नै रित्तिने अवस्थामा नेपाली कामदारहरु पुग्ने गरेका छन् । मलेसियामा पछिल्लो समय अनलाइन सट्टेबाजीमा फस्ने युवाको संख्या दिनहुँ बढिरहेको दूतावासको भनाइ छ । अनलाइन सट्टेबाजी अर्थात बेटिङ गराउने धेरै वेबसाइट छन् । तीमध्ये वान एक्स बेट मलेसियामा निकै चर्चित रहेकोे छ । मोबाइल वा कम्प्युटरबाट खेलिने यो खेलमा पैसाको लगानी हुन्छ । अनलाइन सट्टेबाजीमा बैंकिङ एप तथा डिजिटल भुक्तानीका प्लेटफर्महरूको पनि दुरुपयोग हुने गरेको बताइएको छ ।



