काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।
चितवनकाे साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकाल्दै उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ ।
अभियोगपत्रमा जीबी राईबाट ४१ लाख ३० हजार, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङले २ करोड ६४ लाख सहकारीलाई व्यक्तिगतरुपमा भर्नुपर्ने मागदाबी लिइएको छ ।
अभियोगपत्रमा बिगो भने कुल ३८ कराेड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ । मूल अभियोगपत्रबाट कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा गरी सो रकम बिगो कायम भएको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।



