काठमाडौं । दुबईमा संचालित नेपाली रेष्टुरेन्ट ‘एभरेष्ट १०० रेष्टुरेन्ट’ को झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फर्फराइएको छ । नेपालका चर्चित डिजे तेन्जिङ शेर्पाले दुबईमा रहेको एभरेष्ट ग्रुप अफ कम्पनिजद्वारा सञ्चालित एभरेष्ट १०० रेष्टुरेन्टको झण्डा सर्वोच्च शिखरमा फरफराएका हुन् ।
‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नारासहित गत अप्रिल ७ मा सगरमाथा आरोहण शुरु गरेका शेर्पाले मंगलबार सर्वोच्च शिखरको चुचुरोमा पाईला टेकेका हुन् । सोलुखुम्बु निवासी तेन्जिङलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको झण्डा दिएर शुभकामनासहित सगरमाथा आरोहणका लागि बिदाइ गरेका थिए । नेपालका विभिन्न स्थानहरुमा लामो समयदेखि सांगीतिक कार्यक्रमहरु गर्दै हिँडेका डिजे तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् ।
सर्वोच्च शिखरमा आफ्नो रेष्टुरेन्टको झण्डा फर्फराएपछि एभरेष्ट ग्रुप अफ कम्पनिजका सञ्चालक पासाङ शेर्पाले खुशी व्यक्त गरेका छन् ।
प्रवाशमा नेपालीद्वारा सञ्चालित रेष्टुरेन्टहरु मध्ये सम्भवत हाम्रो रेष्टुरेन्टको झण्डा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको छ । यो अत्यन्तै खुशी र गौरवको कुरा हो । हिमालसँगै जोडिएको समुदायको नाताले पनि म अत्यन्तै हर्षित छु’, शेर्पाले भने ।
यूएईमा सन् २०१० बाट सञ्चालनमा आएको एभरेष्ट १०० रेष्टुरेन्ट २०२४ को शुरूआतदेखि एनआरएनए ग्लोबलका अध्यक्षसमेत रहेका पासाङ शेर्पाले सञ्चालन गर्दै आएका छन् ।
एभरेष्ट ग्रुप अफ कम्पनिजमा हाल ३ वटा रेष्टुरेन्ट र विभिन्न क्षेत्रका ८ कम्पनी सञ्चालनमा छन्।



