काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ । उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ ।
टाइम्स अफ इजरायलका अनुसार गाजामा बन्धक बनाइएकामा एक नेपाली, एक तान्जेनियाली र ८ जना थाई नागरिक छन् ।
समाचारमा जनाइएअनुसार आज तीन इजरायली र पाँच थाई नागरिकलाई हमासले रिहा गर्दैछ । तीन इजरायली २० वर्षीय इजरायली सैनिक अगम बर्गर, २९ वर्षीया महिला अर्बेल येहुद ८० वर्षका गदी मोशे मोजेस छन् । पाँच थाईको नाम भने उल्लेख गरिएको छैन । विपिनको रिहाइका विषयमा भने टाइम्स अफ इजरायलले केही उल्लेख गरेको छैन ।
दुवै पक्षबीच भएको सहमति अनुसार आउँदो शनिबार हमासले पुनः तीन इजरायली बन्धकलाई रिहा गर्नेछ । तीन बन्धक रिहाइको बदलामा आज इजरायलले ११० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ।
लामो प्रयासपछि अमेरिका, इजिप्ट र कतारको पहलमा दुवै पक्षबीच युद्धविराम सम्झौता भएको हो । जस अन्तर्गत हमासले पहिलो चरणमा दुई पटक गरी ७ बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले २९० जना बन्धकलाई छाडिसकेको छ ।
इजरायल र प्यालेस्टिनी समूह हमासबीच भएको युद्धविराम सम्झौता अन्तर्गत हमासले तेस्रो पटक बन्धक रिहा गर्ने सम्बन्धी सूची सार्वजनिक गर्दा नेपाली नागरिक अझै गाजामा बन्धक रहेको उल्लेख गरेको हो ।
सन् २०२३ अक्टोबर ७ मा हमासले अप्रत्याशित रूपमा इजरायलमा आक्रमण गरी २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । तीमध्ये नेपाली विद्यार्थी विपिन पनि थिए ।



