Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक अनुदान

अमेरिकाले रोक्यो वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुने

अमेरिकाले रोक्यो वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुने

आइतवार, माघ १३ २०८१
  • काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो ।

    ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    images

    २० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएका हुन् ।

    यसबाट विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुनसक्ने छ । यी क्षेत्रमा अमेरिकाले विश्वभर सबैभन्दा धेरै खर्च गर्दै आएको छ ।

    सरकारी तथ्यांकअनुसार अमेरिकाले विश्वमै सबैभन्दा धेरै वैदेशिक विकास सहायता उपलब्ध गराउँछ । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता वितरण गरेको थियो ।

    अमेरिकाले सहयोग रोक्दा नेपाल पनि प्रभावित हुने अनुमान छ । अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएको छ । ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम हुँदै आएको छ ।

    अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीमार्फत् पनि नेपालमा सडक र विद्युत् पूर्वाधारको क्षेत्रमा काम सुरु भएका छन् । ती पनि प्रभावित हुन सक्ने अनुमान छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले स्वास्थ्य क्षेत्रमा गरिब देशहरुलाई दिँदै आएको सहयोग पनि बन्द गरेको छ । यो कदमबाट खोप लगायतका अभियान रोकिने सम्भावना छ । यस सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले दूतावासहरुलाई पत्र पठाइसकेको समाचारमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार