काठमाडौँ । वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट हटाउन सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरूले त्यस्ता श्रमिकको स्वास्थ्य परीक्षण स्थानीयस्तरमै गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट हुँदै आएको भन्दै समितिमा उजुरी दिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरिसकेको भन्दै मेडिकल व्यवसायीले आफूहरूलाई पनि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अधिकार दिनुपर्ने भन्दै समितिमा उजुरी दिएका हुन् ।
जुनसुकै देशमा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण सबै स्वास्थ्यले गर्न पाउने गरी ऐन संशोधन गर्नुपर्नेमा मेडिकल व्यवसायी संघको जोड थियो ।
संघका तर्फबाट समितिमा दिइएको सोही उजुरीमाथि बिहीबार छलफल भएको हो ।



