काठमाडौं । वैदेशिक राेजगार विभागको सर्भरमा आएको समस्या पूर्णरूपमा समाधान भएको छ । सर्भरमा समस्या आएपछि साेमबारदेखि नै वैदेशिक राेजगारका लागि पूर्व तथा अन्तिम स्वीकृति राेकिँदा वैदेशिक राेजगारमा जानुपर्ने कामदार प्रभावित भएका थिए ।
विभागका निर्देशक तथा सूचना अधिकारी गुरूदत्त बरालले बुधबार कार्यालय समयको शुरूमै समस्या समाधान भएको जानकारी दिए । सर्भरले काम गरेपछि पूर्ववतरूपमा सबै प्रकारका श्रम स्वीकृतिकाे काम सूचारू भएको उनले जानकारी दिए ।
यसअघि प्रणालीमा समस्या आएपछि विभागले श्रम स्वीकृति भएको, तर स्टिकर नभएकाहरूलाई वैदेशिक राेजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर उडान अनुमति दिएको थियो ।
विभागले श्रम स्वीकृति नभएसम्म विदेश जान टिकट नलिन आग्रह गरेको छ। तर अन्तर्राष्ट्रिय उडानमा श्रम स्वीकृति लिएकै दिन टिकट काटेर उड्नु अत्यन्तै महँगो हुने भएकाले केही समय पहिले नै टिकट खरिद गर्ने गरिएको व्यवसायीहरूकाे भनाइ छ । नेपाल वैदेशिक राेजगार व्यवसायी संघको विभाग समन्वय समिति सदस्य देउमान नेम्वाङले सर्भरको समस्या समाधान भएसँगै व्यवसायीहरु मंगलबारजस्तो विभाग धाउनुनपर्ने जानकारी दिए ।



