Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदी अरबमा २४ जना नेपाली श्रमिक अलपत्र, उद्धार गरिदिन आग्रह

साउदी अरबमा २४ जना नेपाली श्रमिक अलपत्र, उद्धार गरिदिन आग्रह

बुधवार, जेठ ९ २०८१
  • काठमाडौं । साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । कम्पनीले लामो समयदेखि तलब र खान, बस्नसमेत नदिएपछि समस्यामा परेको भन्दै उनीहरूले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् । 

    काठमाडौं नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् । 

    images

    कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् । पीडितमध्येका एक नवीन रुम्बाले कम्पनीले काम नदिएर अहिले आफूहरूलाई कोठामा राखिरहेको जानकारी दिए । 

    कोठा दुर्गन्धित, साँघुरो र भिडभाडयुक्त रहेको र खान पनि समस्या रहेको भन्दै उनीहरुले साउदीस्थित नेपाली दूतावास, सम्बन्धित मेनपावर तथा सरोकारवालासँग उद्धारका लागि हारगुहार गरेका छन् । 

    उनीहरुले दूतावासमा दिएको निवेदनमा आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल पठाउन आग्रह गरेका छन् । तर, दूतावासले अहिलेसम्म पहलकदमी नलिएको पाइएको छ । 

    म्यानपावरलाई पनि उद्धारका लागि आफूहरूले पटक पटक आग्रह गर्दा ‘हामीले केही गर्न सक्दैनौँ’ भनेर जवाफ दिने गरेको पीडितमध्येका एक नेपालीले जानकारी दिए । 

    मेनपावरका प्रतिनिधि जेबी सापकोटाले भने अधिकांशको समस्या समाधान गरिएको दाबी गरे । यस्तै केहीको समस्या समाधानको प्रक्रियामा रहेको उनको जिकिर थियो । 

    पीडितहरूले भने मंगलबारसम्म कसैको पनि समस्या समाधान नभएको बताउँदै मेनपावर गैरजिम्मेवार बनेको आरोप लगाए ।

    अलपत्र पर्नेहरुमा सुकबहादुर थोकर, नवीन रुम्बा, बखानसिं मोक्तान, दिलाराम यादव, नरेश महरा, मुकेश कुमार शाह, प्रेम सागर महतो, अर्जुन परियार, बिकाउ साह, राजा पासवान, हरिन्द्र दास गणेश कुमार मण्डल, अरुण कुमार ठाकुर, गणेश भारती, सिताराम चमार, श्रीप्रसाद गणेश, साजरे आलम, अल्गु चमार, उमेश यादव, सुलिन्द्र गिरी, गगन भण्डारी र जनक चौधरी रहेका छन्् । 

    कम्पनीकै होस्टलमा बसेपनि उनीहरूलाई खाने जुटाउन हम्मेहम्मे परेको बताइएको छ । तत्कालका लागि उनीहरूलाई कमलेश ठाकुर नाम गरेका नेपालीले खानका लागि पैसा दिएको भएपनि सो पैसा पनि सकिने अवस्थामा रहेकाले चाँडोभन्दा चाँडो उद्धारको आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार