काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् ।
पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको पार्टी प्रवक्ता मनिस झाले बताए ।
‘सभापति रवि लामिछाने आज शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’ प्रवक्ता झाले भने, ‘सडकमार्ग हुँदै काठमाडौं आइरहेकाले आजै अदालतमा उपस्थित हुने सम्भावना निकै कम छ।’
तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ ।
सचिवालयले भन्यो, ‘चार बजे अगाडि आइपुगे भने जसरी पनि अदालत उपस्थित हुनुहुन्छ, ढिला भएपछि आइतबार १० बजे उपस्थित हुने योजना रहेको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका हुन् ।
उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको थियो ।



