Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारी : पाँच महिनामा ४ हजार भन्दा बढि ठगीका उजुरी

वैदेशिक रोजगारी : पाँच महिनामा ४ हजार भन्दा बढि ठगीका उजुरी

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा युरापेली मुलुक पोल्यान्ड पठाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी ठगी भएको छ । प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका कृष्ण यदुवंशी र गोरखाको बारपाक सुलिकोटका ३७ वर्षीय राजेश बरामलाई उक्त ठगीको उजुरीका आधारमा पक्राउ गरेको बताएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीबाट पक्राउ गरेको हो ।

    images

    पक्राउ परेकामध्ये यदुवंशीले पोल्यान्ड पठाउने भन्दै ७२ लाख ४८ हजार १५० रुपैयाँ र बरामले पनि वैदेशिक रोजगारीका लागि उक्त मुलुक पठाउने भन्दै ८ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताएको छ ।

    युरोप, अमेरिकालगायतका सम्पन्न मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने प्रवृत्ति व्यापक रूपमा देखापरेको वैदेशिक रोजगार विभागले बताएको छ ।

    विभागमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ७६३ उजुरी दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४३ प्रतिशतले बढी भएको विभागको भनाइ छ ।

    चालू आर्थिक वर्षको ५ महिनामा मात्र करिब ४ हजार १०० वटा उजुरी दर्ता भएका छन् । करिब ४ वर्षअघि वर्षभरिमा ८००/९०० को हाराहारीमा ठगीका उजुरी दर्ता हुने गरेकामा चालू आर्थिक वर्षको ५ महिनामै ४ हजार १०० ठगीका उजुरी दर्ता हुनुले व्यक्तिगत ठगी व्यापक बनेको अनुभवीहरू बताउँछन् ।

    यसअघि व्यक्तिगत ठगीमा पक्राउ पर्नेहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्दा दर्ता भएपछि अधिकांश प्रतिवादी दोषी ठहर हुने गरेकामा हाल वैदेशिक रोजगार ठगीमा मेलमिलाप हुने भएपछि ठगीका घटनामा अस्वाभाविक रूपमा वृद्धि भएको कतिपयको टिप्पणी छ ।

    शैक्षिक कन्सल्टेन्सीले पनि वैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगेको विभागको भनाइ छ । शैक्षिक कन्सल्टेन्सीले शिक्षा मन्त्रालय मातहत रहेको तर मन्त्रालयले उनीहरूलाई अनुगमन र नियन्त्रण गर्न नचाहेका कारण उनीहरूले ठूलो रकम ठगेको अनुमान छ ।

    उजुरी पर्ने क्रम बढे पनि ठगीको रकम फिर्ता हुने प्रवृत्ति भने तुलनात्मक रूपमा सुस्त छ । आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ७६३ उजुरी परेकामा ३ हजार ४५९ वटा फछ्र्यौट भई पीडितले करिब ३१ करोड रुपैयाँ फिर्ता पाएका विभागले जनाएको छ ।

    चालू आर्थिक वर्षको ५ महिनामा २ हजार ३८१ उजुरी फछ्र्यौट भई पीडितको १९ करोड ४० लाख बराबरको रकम फिर्ता भएको छ ।

    विभागमा व्यक्तिगत ठगीको तुलनामा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत हुने ठगी तुलनात्मक रूपमा घट्दै आएको विभागको भनाइ छ । संस्थागत अर्थात् म्यानपावर व्यवसायीले ठगी गरेमा तत्कालै उनीहरूको नगद धरौटीबाट कट्टा गरेर पीडितलाई दिने अवस्थाले म्यानपावरविरुद्धका उजुरी दर्ता हुने क्रम घटिरहेको र दर्ता भए पनि मेलमिलापको माध्यमबाट छिटो टुंगो लगाउने गरिएका कारण व्यक्तिगत ठगीसम्बन्धी उजुरीको तुलनामा म्यानपावर कम्पनीविरुद्धका थोरै रहेकोे बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार