Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अभिमुखीकरण तालिममा बढी शुल्क नउठाउनू

अभिमुखीकरण तालिममा बढी शुल्क नउठाउनू

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई कामदारसँग तोकिएकोभन्दा बढी शुल्क नउठान चेतावनी दिएको छ ।विभागले एक विज्ञप्ति जारी गरी कतिपय संस्थाहरुले वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम प्रदान गर्दा कामदारसँग बढी शुल्क लिएको गुनासो प्राप्त भएको उल्लेख गर्दै उक्त चेतावनी दिएको हो ।

    सरकारले हालसम्म तालिम शुल्कमा कुनै परिवर्तन नगरेकोसमेत विभागले प्रस्ट पारेको छ । ‘नेपाल सरकारले तोकेको पूर्ववत् तालिम शुल्कमा हालसम्म कुनै परिवर्तन नभएको हुँदा अभिमुखीकरण तालिम कक्षा सञ्चालन गर्दा सोहीबमोजिम शुल्क लिएर मात्र तालिम सञ्चालन गर्ने व्यवस्था मिलाउनू,’ विज्ञप्तिमा भनिएको छ ।

    images

    अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाहरुले मनपरि शुल्क लिने तथा कतिपयले तालिम नै नलिई नक्कली प्रमाणपत्र बिक्री गरेको पाइएपछि विभागले कडाइ गर्दै आएको छ । यसरी प्रमाणपत्र लिएर विदेश जाने कामदारले कार्यस्थलमा समस्या भोग्दै आएका छन् ।

    माघ १ गतेबाट क्लस्टरअनुसार तालिम 
    यसैबीच सरकारले आगामी माघ १ गतेबाट वैदेशिक रोजगारमा जाने कामदारलाई वैदेशिक रोजगारमा जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिम देशगत समूह क्लस्टरअनुसार सञ्चालन गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरको निर्णयबाट उक्त व्यवस्था कार्यान्वयन गर्न लागिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

    विभागले यसका लागि आवश्यक तयारी गर्न तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । विभागले एक परिपत्र जारी गरी सोहीअनुसार व्यवस्था मिलाउन भनेको हो ।विभागका निर्देशक लोकनाथ भुसालद्वारा पे्रषित पत्रमा यसअघि विभागसमक्ष आवेदन पेस भई देशगतरुपमा क्लस्टर छनोट भइसकेका सूचीकृत संस्थाहरुले तोकिएको क्लस्टरबमोजिम नै हुनेगरी तोकिएको मितिबाटै तालिम सञ्चालनको प्रबन्ध मिलाउन भनिएको छ ।

    यसैगरी यसअघि आवेदन नगरेका वा अन्य कुनै कारणले क्लस्टर छनोट हुन छुटेका सूचीकृत संस्थाहरुले मिति यही पुस २८ भित्र आवेदन दिनसक्ने जनाइएको छ । यसका लागि आफूले सञ्चालन गर्न चाहेको तालिमको देशगत समूह क्लस्टर, सो सम्बन्धित पूर्वाधार र प्रशिक्षकहरुको योग्यता विवरणसमेत खुलाइ विभागसमक्ष आवेदन दिनुपर्ने छ । यसरी छनोट भएको आधारमा निर्धारित मिति अर्थात् माघ १ गतेबाटै देशगत समूह क्लस्टरअनुसार तालिम सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागले आग्रह गरेको छ ।

    क्लस्टर छनोट भएका संस्थाहरुले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न चाहेमा वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेमा आफूले सञ्चालन गर्न चाहेको क्लस्टरसम्बन्धी पूर्वाधार र प्रशिक्षकहरुको योग्यता विवरणसमेत खुलाई कम्तीमा सात दिनअगाडि विभागसमक्ष निवेदन पेस गर्नुपर्ने पत्रमा उल्लेख छ ।
    ‘यसरी विभागसमक्ष पेस हुन आइ विभागबाट तोकिएको क्लस्टरबमोजिमको तालिम कक्षा, तोकिएको मिति र समयभित्रै सञ्चालन गर्ने गरी प्रबन्ध मिलाउनू,’ पत्रमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार