काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । आज इजलासमा न्यायाधीशले बोल्न समय दिएपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् ।
रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।
‘पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।
कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको र कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।



