Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दैछौँ : मुख्यमन्त्री लामा

युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दैछौँ : मुख्यमन्त्री लामा

आइतवार, पौष २१ २०८१
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताएका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको आज बट्टारमा आयोजित १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री लामाले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गरे।

    उनले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

    images

    “उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा नेपाली युवाको विदेश जानुपर्ने बाध्यताप्रति सरकार गम्भीर भएर सरोकार भएकासँग छलफल र सहकार्यमार्फत समस्या समाधान गर्न पहल गरिरहेका छौँ”, मुख्यमन्त्री लामाले भने, “लहलहै र देखावटीमा जानेलाई पनि स्वदेशमा बस्नुपर्छ भनेर सजग गराउन चेतना अभिवृद्धि गर्ने काम गरिरहेका छौँ ।”

    वैदेशिक रोजगार र उच्च शिक्षाको बहानामा युवाहरू विदेश जाने क्रमले गाउँका घरहरू रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री तामाङले उल्लेख गरे । युवालाई उद्यमी बनाउन र प्राविधिकसहित गुणस्तरीय शिक्षा उपलब्ध गराई रोजगारको सुनिश्चित गराउन तीन तहका सरकारले साझा धारणा बनाएर समस्याको पहिचान गरिरहेको भन्दै यसमा प्रदेश सरकारले पनि पहल गरिरहेको मुख्यमन्त्री लामाले बताए ।

    सरकारले उद्योग कलकारखाना स्थापनाका लागि सरल नीति अवलम्बन गर्ने, व्यवसायीमैत्री कानुन कार्यान्वयन गर्ने, विद्युत् आपूर्ति, राजस्वमा सहुलियतलगायत क्षेत्रमा सुधार गरेकाले नयाँ उद्योग स्थापना गर्न उद्योगी, व्यवसायीलाई उनले आग्रह गरे ।

    कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, महासचिव उपेन्द्र बुढाथोकीले कार्यसम्पादन प्रतिवेदन र कोषाध्यक्ष मेघनाथ घिमिरेले आर्थिक प्रतिवेदन पेस गरे । सो अवसरमा जिल्लामा उद्योग सञ्चालन र रोजगार सिर्जनामा योगदान पुर्‍याउँदै आएका उद्योगी तथा व्यवसायीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा जिल्लाका उद्यमी तथा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकला एवम् घरेलु उद्योगका सामग्रीहरूको बिक्री तथा प्रदर्शनी गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार