काठमाडौं । म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् । बर्मास्थित नेपाली दूतावासलाई पुगेको सूचना अनुसार उनीहरू विद्रोहीको कब्जा रहेको सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा फसेका छन् र उद्दारका लागि अनुरोध गरेका छन् ।
बर्माका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरेले बताए अनुसार उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा पर्छ । केहीअघि त्यस क्षेत्रमा तैनाथ म्यानमारको सेनाले स्थानीय विद्रोहीसँग आत्मसमर्पण गरेको थियो ।
राजदूत घिमिरेले भने, ‘त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको छ ।’
औपचारिक रुपमा जातीय समूहलाई पत्राचार गर्नसक्ने स्थिति नभएकाले अन्य गैरसरकारी संस्थाहरूको समेत सहयोग लिनुपर्ने स्थिति छ ।
‘केही दिनअघि पाँच जना नेपाली उद्दार भएर स्वदेश फर्किनुभएको छ’, उनले भने, ‘अन्यलाई पनि फर्काउन यथाशक्य प्रयास गरिरहेका छौं ।’
पछिल्लो दुई वर्षमा बर्मामा अलपत्र परेका कम्तिमा ९० जनालाई उद्दार गरेर नेपाल फर्काइसकिएको घिमिरेको भनाइ छ । ‘यद्यपि, अझै नेपाली आइरहनु भएकाले म्यानमार आउनुअघि सचेत रहन आग्रह गर्छौं’, उनले थपे ।
अलपत्र परेका मध्ये अधिकांश भिजिट भिसामा थाइल्याण्ड पुगेर स्थलमार्गबाट म्यानमार गएका छन् । कतिपय विजनेश भिसामा सिधै म्यानमार गएको समेत देखिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।



