काठमाडौं । जेठ ५ गते शनिबार तोकिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।
आफ्नो पार्टीले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्नुपर्ने भन्दै अध्यक्ष तथा पदाधिकारीका लागि आन्तरिक छलफलमा लागिरहेका छन् ।
अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, तारानाथ अर्याल, चिरञ्जीवी बस्याललगायतले तयारी गरेका छन् । तर प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति गोप्य राखेका छन् । प्रथम उपाध्यक्षमा विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रुची देखाएका छन् भने महासचिवमा कृष्णकुमार जैसी, मोहन ढुंगेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरुपमा व्यक्त गरेका छन् । उम्मेदवार र प्यानलको खाकाले बिहीबारसम्म ठोस आकार लिने बताइएको छ ।
गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरुले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
व्यवसायीहरुले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले वरिष्ठ र नेतृत्व क्षमता तथा आर्थिक दृष्टिकोणले अब्बल रहेको प्रचार गर्दै उम्मेदवारीमा दाबेदारी गर्ने गरेका छन् । एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ ।
साधारण सभापछिको निर्वाचनले ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।



