धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा पुरिएको एउटा बस गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस भएको पुष्टि भएको छ।
गोरखाको धार्चे गाउँपालिका–७, लापुबाट प्रस्थान गरेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको थियो। सो बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको पाइएको हो।
‘गाडीको नम्बर नै फेला परेपछि सोही बस हो भन्ने पुष्टि भएको छ’ धादिङ प्रहरीका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले भने, ‘याताायात व्यवसायीहरू घटनास्थलमै हुनुहुन्छ। पुरिएको बसको डण्डीमा चालकको मोबाइल नम्बर लेखेको र सो नम्बर पनि मिलेको बताइएको छ। शुक्रबारदेखि हराएको सोही बस हो भन्ने पुष्टि गरिएको छ।’
झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो ।



