Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशबाट घर आएका श्रीमान्‌ले गरे श्रीमतीको हत्या, बुवामाथि पनि चलाए गोली

विदेशबाट घर आएका श्रीमान्‌ले गरे श्रीमतीको हत्या, बुवामाथि पनि चलाए गोली

शुक्रवार, आश्विन ११ २०८१
  • वीरगन्ज । सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे  श्रीमान्‌ले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।

    सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।

    images

    सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको  छ ।

    आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन ।

    घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

    किन हत्या ?

    श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । त्यसको केही समय  उनी घरमा बसे ।

    विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्किएका थिए । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राति अचानक उनी घरमा आएका थिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ ।

    प्रहरी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘ऊ राती साढे १२ बजे घर आयो, अन्य २ जना व्यक्ति पनि ऊसँगै मोटरसाइकलमा आएका थिए । त्यसपछि श्रीमतीलाई हिर्काउन थाल्यो, अचानक श्रीमतीलाई कुटपिट गर्न थालेपछि भाउजूले देखिन् । अनि उनी गएर ससुरालाई खबर गरिन, लगत्तै बुवा पनि आए । तर त्यहाँ आपसी सम्बन्ध ठिक नरहेकोले आक्रोशित श्रीमान्‌ले सुरुमा श्रीमतीमाथि गोली हान्यो, त्यसपछि बुवालाई पनि गोली चलाएर घाइते बनायो ।’

    घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटरको दुरीमा छ । गोली हान्ने व्यक्तिको खोजीका लागि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार