काठमाडौं । मध्यपूर्वको प्रमुख देश साउदी अरबमा नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शन हुने भएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार मानिएको साउदीमा पहिलोपटक नेपाली फिल्म ‘छक्कापञ्जा ५’ ले सो पाउने भएको हो ।
नेपाल रिलिजको एकसातापछि मध्यपूर्वका दर्शकले यो फिल्म हेर्न पाउने भएका हुन् ।
मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी नेप-फिल्म्सले ‘छक्कापञ्जा ५’लाई कात्तिक १ गते (१७ अक्टोबर) मा साउदीमा रिलिज गर्न लागेको नेप-फिल्म्सका प्रमुख रमेश ढकालले जानकारी दिए । उनले भने, ‘हामीले साउदीका हलहरुमा देशब्यापी फिल्मलाई रिलिजको तयारी गर्दैछौं ।’ यस ऐतिहासिक अवसरमा नेपाली दर्शकहरूको ठूलो सहभागिता रहने अपेक्षा राखेका छौं। उनले आफूले पहिलो तर महत्त्वपूर्ण कदम चालेकोले साउदीमा रहने ठुलो सङ्ख्याका नेपालीहरूले साथ दिने विश्वास रहेको बताए। ढकालका अनुसार साउदीबाहेक ‘छक्कापञ्जा ५’ युएई, कतार, बहराइन र ओमानमा प्रदर्शन हुने भएको छ ।
यसको सगँसगै ढकालले ‘छक्कापञ्जा ५’लाई मलेसिया र माल्दिभ्समा पनि प्रदर्शन गर्दैछन् । कात्तिक १ मै माल्दिभ्सको माले र हलह्युमेल टापुमा यो फिल्मको टुंगो यसअघि नै लागिसकेको उनले बताए ।
दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी स्टारर ‘छक्कापञ्जा’को ५ औं श्रृंखला नेपालकै मितिमा अमेरिकामा समेत रिलिज हुँदैछ, जहाँ प्याट्रिक सुवेदीले रिलिज गर्दैछन् ।



