काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन गएराति अमेरिका प्रस्थान गरेकी छिन् ।
उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए । डङ्गोलसँगै डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् ।
महासभाको गएको भदौ २७ गते औपचारिक उद्घाटन भइसकेको छ । महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर’ मा उपमेयर डङ्गोललाई काठमाण्डौमा रहेको यूएनको प्रतिनिधि कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो ।
महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपमेयर डङ्गोल सहभागी हुने छिन् ।



