काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो ।
मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको वैदेशिक रोजगार महाशाखाले छानबिनको प्रक्रिया सकिएपछि मात्रै अन्य प्रक्रिया शुरु गरिने बताएको छ । हाल बी टु बीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भइ अध्ययन भइरहेकाले इजाजतपत्रवाला संस्थाहरुबाट इजरायलका लागि कामदार भर्ना प्रकृया स्थगित गरिएको जनाएको हो ।
यसअघि वैदेशिक रोजगार विभागले ३ हजार ४ सय ६१ जनाको नामावली इजरायल पठाएको थियो । नेपालबाट लैजाने कामदार छनोटमा संलग्न इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण ९पिवा०ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर गिभर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैर कानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा प्राप्त भएकोले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले अनुरोध गरेको छ।
इजरायल भर्ना प्रक्रियाका लागि कुनै निर्णय भएमा यस विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशन समेत गरिने सूचनामा उल्लेख छ ।



