काठमाडौं । आज हरितालिका (तीज) पर्व । हिन्दु नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हो तीज ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने यस पर्वमा भगवान् शिवको आराधनाका साथै नाचगान गरी मनोरञ्जन गर्ने गरिन्छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
तीज पर्वको अवसरमा देशभरका शिवालयहरूमा महिलाको घुइँचो लाग्ने गदर्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
हिन्दु महिलाहरूद्वारा स्वतन्त्रता र आनन्दमयका रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि पछिल्लो समय हर्षोल्लासका साथ मनाउन थालेका छन् ।



