काठमाडौं । अध्ययनका लागि रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) रोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूको एनओसी रोकेको हो ।
रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले एनओसी बन्द गरेको थियो । तर, रसिया सरकारकै छात्रवृत्तिमा जान लागेका ४० जना विद्यार्थीलाई एनओसी बन्द गर्न नहुने बताएका हुन् । नेपालबाट विभिन्न १३ वटा क्षेत्रमा अध्ययनका लागि विद्यार्थीहरू रसिया पढ्न जाने लागेका हुन् । तर, युद्धका कारण देखाउँदै शिक्षा मन्त्रालयले एनओसी दिएको छैन ।
शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई विद्यार्थीहरू पढ्न जान लागेको क्षेत्रमा सुरक्षा जोखिम बुझ्न पठाएको थियो । परराष्ट्रले आफ्नो संयन्त्रमार्फत विद्यार्थीहरू पढ्न जान लागेको विश्वविद्यालय तथा कलेजहरूमा सुरक्षा जोखिम नरहेको रिपोर्ट दिएको छ ।
सोही आधारमा शिक्षा मन्त्रालय विद्यार्थीहरूलाई पठाउन तयार भएको छ । त्यसका लागि जान लागेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको प्रतिबद्धता माग गरेको छ । आज शिक्षा मन्त्रालयमा विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई बोलाएर छलफल गरेको छ ।
छलफलको क्रममा विद्यार्थीहरूले रसिया सरकारले दिएर अवसर खेर जाने अवस्थामा पुगेको भन्दै एनओसी दिन माग गरे । मेडिकल शिक्षा पढ्न रसिया जान लागेका चन्दनकुमार गोहितले रसियामा हाल त्यस्तो जोखिम नरहेको बताउँदै एनओसी दिन माग गरे ।
त्यस्तै इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न मस्को जान लागेका आशुतोष पन्जियारले रसियन सरकारले नै छात्रवृत्ति प्रदान गरेर जान लागेको र त्यसमा कुनै खतरा नरहेको बताए । त्यसका लागि सरकारले जान दिनुपर्ने बताए ।
विद्यार्थीहरू एमबीबीएस, बीडीएस, इन्जिनियरिङ लगायतका विषय पढ्न रसिया जान लागेका हुन् । रसियामा एमबीबीएस अध्ययन गर्नका लागि छात्रवृत्ति पाएकी संस्कृति भण्डारीले आफू पढ्न जान लागेको विश्वविद्यालय विश्वमै राम्रो र्याङ्कमा रहेको बताइन् ।
नेपालमा तीन पटकसम्म एमबीबीएसको एकीकृत प्रवेश परीक्षा दिएपनि नाम ननिक्लेको उनको भनाइ छ । उनीहरूका अभिभावकहरूले समेत विद्यार्थीले पढ्ने अवसर पाएकाले जान रोक्न नहुने बताए ।
रसिया सरकारले त्यतिक्कै जोकोहीलाई आर्मीमा भर्ना नगर्ने बताउँदै एक अभिभावकले त्यसमा विद्यार्थीहरूसमेत सचेत हुनुपर्ने बताए । यसका लागि सरकारले नै अभिभावकसँग सेनामा भर्ती नगर्ने लिखित सर्तसहित रसिया पठाउने भएको छ ।



