काठमाडौं । वैदेशिक रोजगारका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तानलगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका- ६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका- २ घर भई काठमाडौं टोखा नगरपालिका- १० बस्ने ४३ वर्षीय मानबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका- ७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका- २६ गोंगबुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



