काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क घटाइएको छ। यसअघि ३५२ दिराम लाग्दै आएको शुल्क भिएफएस, मोफा चार्ज र भ्याटसहित अब २०८ दिराम कायम गरिएको हो। नयाँ शुल्क आजदेखि लागू भएको छ। शुल्क घटेसँगै श्रमिकले प्रतिव्यक्ति १४४ दिराम अर्थात् करिब ४१ प्रतिशत रकम बचत गर्नेछन्।
वैदेशिक रोजगार व्यवसायी संघका सचिव केदारनाथ अधिकारीका अनुसार संघको पहलमा शुल्क घटाइएको हो । संघले शुल्क पूर्ण रूपमा हटाउन पहल गरे पनि यूएईले ४४ देशमा प्रहरी रिपोर्ट प्रमाणीकरण प्रणाली लागू गरिसकेकाले तत्काल सम्भव नभएको उनले बताए । नेपालस्थित यूएई दूतावासले नयाँ शुल्क आजदेखि लागू गरेको जनाएको छ।



