काठमाडौँ । अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित एरी सहरमा गोली चल्दा संदिग्ध आक्रमणकारीसहित नौ जनाको मृत्यु भएको छ । घटनाबारे प्रहरीले शनिबार जानकारी दिएको हो।
एरीका प्रहरी प्रमुख रिक लोराहले आफ्नो २८ वर्षभन्दा लामो प्रहरी सेवाको अवधिमा यस्तो भयावह घटना कहिल्यै नदेखेको बताएका छन् । स्थानीय समाचार च्यानलसँग कुरा गर्दै उनले सहरले यति ठूलो जनधनको क्षति यसअघि विरलै बेहोरेको उल्लेख गरे।
घटनाबारे स्थानीय अधिकारी तथा वरिष्ठ प्रहरी अधिकारीहरूले थप विवरण सार्वजनिक गरेका छैनन् । गोली चल्नुको कारण र घटनाको परिस्थितिबारे पनि विस्तृत जानकारी उपलब्ध हुन सकेको छैन।
घटनापछि पेन्सिल्भेनियाका गभर्नर जोस सापिरोले एरीकी मेयर डारिया डेभिलिनलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिमा सहरलाई आफ्नो प्रशासनले पूर्ण सहयोग गर्ने बताएका छन्।
एरी सहर पेन्सिल्भेनियाको प्रमुख सहर पिट्सबर्गबाट करिब १८८ किलोमिटर उत्तरमा अवस्थित छ।
अमेरिकामा पटक–पटक हुने गोलीबारीका घटनाले बन्दुक नियन्त्रणसम्बन्धी कानुन र सार्वजनिक सुरक्षाबारे बहस चर्किरहेका बेला पछिल्लो घटनाले फेरि सुरक्षा चिन्ता बढाएको छ।



