काठमाडौं । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिएर देश छोड्न बाध्य बनाउने आन्दोलनसँगै उत्पन्न भएको अस्थिर परिस्थितिको प्रभाव नेपालसँगको उसको सम्बन्धमा पनि देखा परिरहेको जानकारहरूले बताएका छन् ।
राजीनामा दिएर हसिना भारत पुगेसँगै नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार अगस्ट ८ मा बनेको थियो ।
हसिनाको बहिर्गमनअघि बाङ्ग्लादेशमा भएको हिंसात्मक प्रदर्शनहरूमा सयौँको ज्यान गएको थियो र त्यसपछि पनि कतिपय ठाउँमा हिन्दू धर्मावलम्बीहरूका निवास र मन्दिरहरू निशाना बनाइएका समाचारहरू आएका थिए । खराब सुरक्षा अवस्थामाझ बाङ्ग्लादेशका विभिन्न ठाउँबाट झन्डै २ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।
तर पछिल्ला दिनहरूमा स्थितिमा सुधार आइरहेको, कतिपय शिक्षण संस्थाहरूले अध्यापन थालेको र केही विद्यार्थीहरू ढाका फर्कने क्रम सुरु भएको नेपाली अधिकारीहरू बताउँछन् ।
विद्यार्थीहरूका लागि परिस्थिति कस्तो छ ?
काठमाण्डूबाट सडकमार्ग हुँदै ढाका पुग्न सिलिगुडी कोरिडोर पनि भनिने भारतीय भूमि पार गरेर ९९० किलोमिटर यात्रा गर्नुपर्छ ।ढाका र काठमाण्डूबीच विमानबाट यात्रा गर्दा जम्मा सवा घण्टामा एक अर्काको राजधानी आवतजावत गर्न सकिन्छ ।
पछिल्लो पटक बाङ्ग्लादेशमा उत्पन्न राजनीतिक सङ्कटले दुई देशबीच विभिन्न क्षेत्रमा बढ्न थालेका सहकार्यलाई प्रत्यक्ष प्रभावित तुल्याएको देखिन्छ ।
ढाकास्थित नेपाली राजदूतावासकी द्वितीय सचिव योजना बमजनका अनुसार बाङ्ग्लादेशमा भएका सरकार विरोधी प्रदर्शनहरूले हिंसात्मक रूप लिएपछि त्यहाँ अध्ययनरत झन्डै २ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।
बाङ्ग्लादेशमा १७ जुलाईबाट अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्थाहरू गएको आइतवारबाट खुलेका छन्। तर अझै पनि धेरै नेपाली विद्यार्थीहरू आफ्नो घरमा नै बसेर परिस्थितिको आकलन गरिरहेको पाइन्छ ।
काठमाण्डूमा घर भएकी एक विद्यार्थीले आफूभन्दा माथिल्लो तहमा अध्ययन गर्नेहरूले फर्कन निर्णय गरेपछि आफू पनि फर्कने बताइन् ।
ढाकास्थित नेपाली राजदूतावासकी द्वितीय सचिव बमजन भन्छिन्, “यो हप्तासम्ममा अलि अलि आइराख्नु भएको छ । अर्को हप्ता पनि आउने क्रममा हुनुहुन्छ। अवस्था पनि बिस्तारै सुधार भइरहेको छ ।”
बाङ्ग्लादेशमा उत्पन्न भएको राजनीतिक सङ्कटमाझ पनि इन्टर्न गरिरहेका झन्डै ४ सयको सङ्ख्यामा रहेका नेपाली चिकित्सकहरू भने बाङ्ग्लादेशमा नै बसेका थिए ।
ढाकास्थित नेपाली दूतावासका अनुसार बाङ्ग्लादेशमा तीन हजार जनाभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।त्यसमध्ये अधिकांश अर्थात् करिब दुई हजार पाँच सय नेपालीहरू चिकित्साशिक्षा अध्ययनरत छन् ।
बाङ्ग्लादेशमा आन्दोलन चर्किएपछि कैयौँ विद्यार्थी हवाई र सडक मार्गबाट र कतिपय आसाम लगायतका भारतीय राज्य प्रवेश गरेर घर फर्किएका थिए ।
व्यापार व्यवसायमा कस्तो असर ?
उद्यमीहरू नेपाल र बाङ्ग्लादेशबीच व्यापार र लगानी अभिवृद्धिका क्षेत्रलाई विस्तार गर्न अवसर रहेको ठान्छन् । दुई देशबीचको आँकडा हेर्ने हो भने व्यापार असन्तुलन गहिरो रहेको देख्न सकिन्छ ।
सन् २०२२-२३ मा नेपालले बाङ्ग्लादेशलाई ५७ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो । बाङ्गलादेशबाट ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको आयात गरिएकोले नेपालतर्फको व्यापार घाटा ५ अर्ब ४७ करोड रुपियाँ रहेको थियो ।
यस वर्षको साउन महिनामा नेपालले ४४ करोड रुपियाँ बराबरको आयात बाङ्ग्लादेशबाट गर्दा १ करोड ७८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालले मुसुरो दाल, बिउ, फलफूल, अदुवा, जुस लगायत बाङ्ग्लादेश पठाउने गर्छ भने औषधि, टेक्सटाइल, विद्युतीय सामग्री, जुट र अन्य कपडाहरू बाङ्ग्लादेशबाट भित्र्याउने गर्छ ।
केही समय पहिला स्थापित बाङ्ग्लादेश नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष अर्जुनराज सुमार्गी पछिल्लो राजनीतिक सङ्कटले तत्कालका लागि प्रभाव पार्ने भए पनि दीर्घकालमा नेपाल र बाङ्ग्लादेशबीच सहकार्यका प्रशस्त सम्भावनाहरू रहेको बताए ।
उनले भने, “उनीहरूलाई नयाँ बजार चाहिएको छ। हामीले पनि नयाँ बजार भेट्टाएका छौँ। हाम्रो देशका दुग्धजन्य उत्पादन, बिजुली लगायतका लागि बाङ्ग्लादेशमा धेरै ठूलो सम्भावना छ ।”
उनले नेपालको पूर्वी भेगमा उत्पादन हुने तरकारीहरूका लागि बाङ्ग्लादेश महत्त्वपूर्ण बजार हुनसक्ने भन्दै त्यसका लागि भारत र बाङ्ग्लादेश दुई ठाउँमा क्वारन्टीन गराउनुपर्ने व्यवस्था अन्त्य गरिनुपर्ने सुनाए ।
सडक मार्गबाट बाङ्ग्लादेश प्रवेश गर्नका लागि नेपालले झापाको काँकडभिट्टाहुँदै भारतको पानीटंकीको सीमा नाका पार गरेर फुलबारी बाङ्ग्लाबन्ध मार्गको प्रयोग गर्दै आएको छ ।
झापास्थित एक जना कार्गो व्यवसायी मित्रलाल सङ्ग्रौलाले नाकामा परिस्थिति अहिले ‘सौहार्दपूर्ण’ रहेको र सामान्य ढङ्गले व्यापार चलिरहेको बताए ।
उनका अनुसार नेपालले निर्यात गर्न चाहेका कतिपय उत्पादनहरूमा बाङ्ग्लादेशमा उच्च कर लाग्ने गरेकाले नेपाल पक्षबाट ‘त्यत्ति ठूलो निर्यात’ छैन ।
तर लगभग दैनिक जसो नेपालका लागि बाङ्ग्लादेशबाट सामान आउने गरेको उनले बताए । उनले थपे, “अहिले दैनिक एक डेढ सय टनसम्म कच्चा पदार्थ जुट मिलका लागि बाङ्ग्लादेशबाट नै आइरहेको छ ।”
बाङ्ग्लादेशमा सरकार विरोधी प्रदर्शनहरू उच्च विन्दुमा पुग्दा सुरक्षा घेरामा केही सवारी साधनहरूको आवतजावत हुने गर्थ्यो।
विद्युत् व्यापार सम्झौताको भविष्य के होला ?
नेपाल, बाङ्ग्लादेश र भारतबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनै लाग्दा ढाकामा भएको उथलपुथलले त्यसबारे अन्योल थपिदिएको छ।
नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूले नेपालले बाङ्ग्लादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रावधानसहितको त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्नका लागि जुलाई २८ को मिति तय गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरण, बाङ्ग्लादेश ऊर्जा विकास बोर्ड, र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच हुने भनिएको उक्त सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन भारत र बाङ्ग्लादेशका मन्त्रीहरू उपस्थित हुने ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका थिए ।
झन्डै ६ वर्ष लगाएर गरिएको उक्त सहमतिको कार्यान्वयन पछिल्लो गतिरोधसँगै धकेलिएको छ । ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव बमजनका अनुसार अहिले तत्कालका लागि सो सम्झौता हस्ताक्षर गर्ने कार्यक्रम ‘स्थगित’ भएको छ ।
उनले भनिन्, “यो बीचको घटनाक्रमले गर्दा कुरा हुने अवस्था भएन। नेपालका तर्फबाट कुनै समस्या भएन। यहाँको सरकारसँग हामी समन्वय गरिरहेका छौँ । उहाँहरू सकारात्मक नै देखिनुभएको छ ।”
लामो समयदेखि नेपाल र बाङ्ग्लादेशले पहल गरिरहेको उक्त सम्झौतालाई दुवै देशका अधिकारीहरूले सीमापार विद्युत् व्यापारको "नयाँ ढोका खोल्ने कदम"का रूपमा अर्थ्याउँदै आएका थिए । -बीबीसी नेपाली



