काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारलाई आगामी इजरायली स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन्।
प्रधानमन्त्री नेतन्याहुले क्याप्टेन स्मितसँग टेलिफोन कुराकानी गर्दै स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिएका हुन्।
नेतन्याहुले यस्तो सम्मान सामान्यत: इजरायली नागरिकलाई मात्र प्रदान गरिने उल्लेख गर्दै मच्छरको साहस र विमानमा रहेका यात्रुको ज्यान जोगाउन खेलेको भूमिकाको सम्मानमा उनलाई विशेष रूपमा निम्त्याउन चाहेको बताए।
‘म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिन चाहन्छु । तपाईं भारत र इजरायलका वीर जनताको सच्चा नायक हुनुहुन्छ । तपाईं सम्पूर्ण विश्वकै नायक हुनुहुन्छ,’ नेतन्याहुले भनेका छन्।
उनले क्याप्टेन स्मितलाई श्रीमती र छोराछोरीसहित इजरायल आउन भनेका छन्। यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानका भारतीय पाइलट स्मित मच्छारलाई को–पाइलट ओमानका हमाम अल हमामीले ‘क्र्यास एक्स’ भनिने आपत्कालीन औजारले आक्रमण गरेका थिए । यो ‘हिंसात्मक घटना’ पछि पनि घाइते पाइलटले विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरेर सकुशल अवतरण गराएका थिए।
उडान नम्बर एफजेड–१०७३ को बोइङ ७३७ म्याक्स ८ विमानमा सवार सबै १७४ जनाको ज्यान जोगाएपछि क्याप्टेन स्मितको विश्वभर प्रशंसा भइरहेको छ। उनीसँगको टेलिफोन कुराकानीका क्रममा नेतन्याहुले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
मच्छारले उडानका क्रममा सहपाइलटले आफूलाई पछाडिबाट आक्रमण गरेको र त्यसपछि आफूले ककपिटको ढोका खोलेर विमानको नियन्त्रण सम्हाल्न अन्य चालक दलका सदस्यलाई अवसर दिएको घटनाबारे नेतन्याहुलाई सुनाएका छन्।
यो कुराकानी इजरायली प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा अपलोड गरिएको छ । यस्तो छ कुराकानीको सम्पादित अंश–
स्मित : तपाईंलाई कस्तो छ?
नेतन्याहु : म ठीकै छु । तर तपाईंलाई कस्तो महसुस भइरहेको छ?
स्मित : बिस्तारै ठीक हुँदैछु । सुधार भइरहेको छ।
नेतन्याहु : क्याप्टेन, म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिन चाहन्छु । तपाईं भारत र इजरायलका वीर जनताको सच्चा नायक हुनुहुन्छ । तपाईं सम्पूर्ण विश्वकै नायक हुनुहुन्छ । तपाईं शीघ्र र पूर्ण रूपमा निको हुनुहोस् भन्ने मेरो शुभकामना छ।
तपाईं मलाई बताउन सक्नुहुन्छ, घटना कसरी सुरु भएको थियो?
स्मित : यो सामान्य उडान थियो । सहपाइलटले प्रार्थना गर्न चाहन्छु भनेर भने । धेरै स्थानीय मानिसहरू प्रार्थना गर्छन्, त्यसैले यो असामान्य कुरा थिएन । उनी प्रार्थना गरिरहेका बेला सम्मानका कारण म अगाडितिर हेरिरहेको थिएँ, पछाडितिर हेरिरहेको थिइनँ।
अचानक, करिब चार–पाँच मिनेटपछि मेरो टाउकोको पछाडिपट्टि ठूलो प्रहार भयो । मेरो पहिलो सोच विमानमा कुनै ठूलो र भयावह क्षति भयो भन्ने थियो । केही गम्भीर समस्या भएको जस्तो लाग्यो । तर त्यसपछि एकपछि अर्को गर्दै प्रहार भइरहे।
त्यसपछि मात्र मैले बुझेँ— यो विमानमा भएको समस्या होइन रहेछ, मसँगै ककपिटमा रहेका अर्का व्यक्ति रहेछन्।
मैले उनलाई रोक्ने प्रयास गरेँ । तर सुरुमै भएका प्रहारका कारण मेरो दृष्टि लगभग हराइसकेको थियो । सबै कुरा धमिलो देखिरहेको थियो । त्यसैबेला मैले विमान तीव्र रूपमा तलतिर गइरहेको महसुस गरेँ।
मेरो सम्झना अहिले पनि टुक्राटुक्रा रूपमा मात्रै छ । तर त्यतिबेलाको मलाई यति याद छ— मैले एकपटक ककपिटको ढोका खोल्ने प्रयास गरेँ, तर मलाई लाग्छ, उनले फेरि ढोका बन्द गरिदिए । त्यसपछि म ककपिटको भुइँमा लडिरहेको याद छ।
मैले विमानको आवाज, हावाको तीव्र आवाज र मानिसहरू चिच्याइरहेको सुनेँ। त्यतिबेला मसँग अझै एउटा अन्तिम प्रयास गर्ने शक्ति बाँकी थियो । त्यो व्यक्तिगत कारणले होस् वा विमानमा रहेका मानिसहरूका लागि होस्, मैले सोचेँ– यदि मैले अब केही गरिनँ भने म मर्छु।
त्यसपछि मैले आफूसँग भएको सम्पूर्ण शक्ति लगाएँ । सबै शक्ति लगाएर ढोकातिर गएँ र ढोका खोलेँ। भाग्यवश, बाहिर रहेका मानिसहरू विमानको नियन्त्रण सम्हाल्न भित्र पस्न तयार भएर बसेका रहेछन् । त्यसपछि के भयो, तपाईंलाई थाहै छ, सर।
नेतन्याहु : असम्भवजस्तो परिस्थितिमा पनि तपाईंले देखाउनुभएको साहस र निर्णय गर्ने क्रममा कायम राख्नुभएको धैर्य देखेर म साँच्चिकै अचम्मित छु।
तर मलाई एउटा कुरा बताउनुहोस्– पाइलटको ढोका अर्थात् ककपिटको ढोका खोल्ने त्यो पिन कसरी तान्नुभयो?
स्मित : होइन सर, ढोका भित्रबाट घुमाएर खोल्ने प्रणाली हुन्छ । बाहिरबाट भने कोड प्रयोग गरेर मात्रै खोल्न सकिन्छ। बाहिर रहेका मेरा सहकर्मीहरूले कोड हालेर ढोका खोल्ने प्रयास गरिरहेका थिए । तर ती व्यक्ति कोड हाल्न दिइरहेका थिएनन्।
त्यसैले ढोका खोल्ने एउटै उपाय थियो– ढोकाको नबसम्म पुग्ने र अरू सामान्य नब घुमाएजस्तै त्यसलाई घुमाउने। त्यसपछि ढोका आफैं खुल्छ । त्यहाँ कुनै पिन थिएन । ढोका खोल्न छोटो र छिटो तरिकाले नब घुमाउनुपथ्र्यो।
मुख्य कुरा भनेको त्यो ठाउँसम्म पुग्नु थियो । जब मेरो हात नबसम्म पुग्यो, मलाई लाग्छ, मैले त्यसलाई घुमाएँ र ढोका खुल्यो।
नेतन्याहु : तपाईंले भन्नुभएको कुरा सुन्दा यो भाग्यको पनि एउटा मोड रहेछ र विश्वासको पनि एउटा मोड । तपाईंले जे गर्नुभयो, त्यो असाधारण छ।
त्यसपछि के भयो भन्ने कुरा मैले इजरायली यात्रुहरूबाट पनि सुनेँ । तपाईं महान् नायक हुनुहुन्छ । तपाईंको साथमा रहेका मानिसहरू पनि नायक हुन् । तपाईंहरूले त्यो दिन बचाउनुभयो । तपाईंले धेरै मानिसको ज्यान बचाउनुभयो।
मलाई लाग्छ, तपाईंले त्योभन्दा पनि ठूलो कुरा बचाउनुभयो– विश्वास र साहसको भावना। यस घटनाले साहसी पाइलट र साहसी यात्रुहरूले जति नै खतरनाक र हिंस्रक भए पनि यस्तो दुष्ट शक्तिलाई पराजित गर्न सक्छन् भन्ने कुरा संसारलाई देखाएको छ।
तपाईंलाई अहिले संसारभर उचित रूपमा नायकका रूपमा सम्मान गरिएको छ । तपाईं इजरायलका नायक हुनुहुन्छ, भारतका नायक हुनुहुन्छ र सम्पूर्ण विश्वका नायक हुनुहुन्छ । यहाँका मानिसहरूले तपाईंलाई खुला हृदयले स्वागत गर्नेछन्।
तपाईंहरू मिलेर धेरै मानिसको ज्यान बचाउनुभयो । कृपया मेरी श्रीमती र मेरो तर्फबाट तपाईंकी श्रीमतीलाई पनि धेरै शुभकामना दिनुहोस् । मलाई थाहा छ, तपाईंको परिवार छ।
स्मित : हुन्छ।
नेतन्याहु : तपाईं अब हाम्रो राष्ट्रहरूको परिवारको हिस्सा हुनुहुन्छ । त्यस परिवारको एक वीर सदस्य हुनुहुन्छ। सकेसम्म चाँडो पूर्ण रूपमा स्वस्थ हुनुहोस्।
स्मित : म निको हुन्छु, सर । अवश्य निको हुन्छु।
नेतन्याहु : फेरि पनि म भन्न चाहन्छु क्याप्टेन स्मित र प्रधानमन्त्री मोदी महान् मित्र हुनुहुन्छ । म साँच्चिकै चाहन्छु कि उहाँहरूले हाम्रो स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्नुहोस्।
यो हाम्रो स्वतन्त्रता दिवसमा दिइने सबैभन्दा ठूलो सम्मानमध्ये एक हो । सामान्यतया यो सम्मान इजरायली नागरिकका लागि मात्र आरक्षित हुन्छ।
तर मलाई लाग्छ, तपाईंको हकमा इजरायलका सबै नागरिकले तपाईंलाई अँगाल्नेछन् । उनीहरूले अहिले पनि तपाईंलाई आफ्नो नायक मानेका छन् र त्यतिबेला पनि त्यही गर्नेछन् । त्यसैले हामी तपाईंलाई धेरै छिट्टै इजरायलमा देख्न चाहन्छौँ।
स्मित : म पनि तपाईंलाई भेट्न आतुर छु, सर । यद्यपि परिस्थितिका कारण यो भ्रमण एउटा स्मरणीय र ऐतिहासिक भ्रमण हुनेछ जस्तो लाग्छ।
नेतन्याहु : धन्यवाद, सर । तपाईंले गर्नुभएको सबै कामका लागि धन्यवाद।
स्मित : धन्यवाद । धेरै–धेरै धन्यवाद, सर । तपाईंसँग कुराकानी गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो।
नेतन्याहु : धन्यवाद।



