काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) बासिन्दाले भोग्दै आएको कठिन जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वन्यजन्तुको त्रास र विकास निर्माणमा लगाइएको कडाइका कारण स्थानीयवासीको दैनिकी कष्टकर बनेको बताएका हुन्।
सांसद थेबेले मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटपछि त्यहाँको अवस्था अत्यन्त दयनीय रहेको सदनलाई जानकारी गराए। उनका अनुसार बफर जोनका कारण स्थानीय बासिन्दाले आफ्नो जीर्ण घर मर्मत गर्न र जग्गामा स-साना संरचना बनाउनसमेत बन्देज भोग्नुपरेको छ।
स्थानीयले विकास निर्माण र प्राकृतिक स्रोतको उपभोगमा समेत अधिकार नपाएको गुनासो व्यक्त गर्दै उनले भने, ‘वन्यजन्तुको त्रासले साँझ परेपछि आवतजावत गर्न पनि जोखिम छ। जंगली जनावरले घरपालुवा पशु चौपाया मार्ने र सडक दुर्घटनामा परी स्थानीयले बर्सेनि ज्यान गुमाउनु परिरहेको छ।’
पटक-पटकको ध्यानाकर्षण र अघिल्ला सदनहरूमा समेत यो विषयले प्रवेश पाउँदा पनि समस्याको ठोस समाधान ननिस्किनु दुःखद् रहेको भन्दै उनले असन्तुष्टि जनाए। सांसद थेबेले स्थानीयको मागबमोजिम बफर जोनको नीतिमा पुनरावलोकन गर्न र तत्काल समस्याको निकास निकाल्न सरकारसँग जोडदार माग गरेका छन्।



