Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलो बने : सांसद राना

सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलो बने : सांसद राना

वायुसेवा निगमलाई व्यावसायिक बनाउने कि पीपीपी मोडलमा लैजाने?

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन्।

    शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको रुग्ण अवस्था र सञ्चालन मोडालिटीबारे सरकारको स्पष्ट दृष्टिकोण नरहेको भन्दै आलोचना गरेका हुन्।

    images

    सांसद रानाले निगमको व्यावसायिक कार्यक्षमतामाथि प्रश्न उठाउँदै नाफा कमाउन नसक्ने संस्थालाई राष्ट्रिय गौरवका रूपमा मात्रै जोगाइराख्नु चुनौतीपूर्ण रहेको बताए। नेपालका सरकारी संस्थानहरूमा व्याप्त ‘नियुक्ति र भागबण्डा’ को संस्कारप्रति कटाक्ष गर्दै उनले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मानसिकतामा नै खोट रहेको जिकिर गरे। उनका अनुसार धेरैजसो सरकारी संस्थानहरूमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने प्रवृत्ति हाबी छ, जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन्।

    उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त निराशाजनक छ। अब यसलाई राष्ट्रिय ध्वजावाहकका रूपमा राख्ने कि व्यावसायिक तथा पीपीपी मोडलमा लैजाने भन्ने विषयमा स्पष्ट नीति आवश्यक छ। निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने हो भने नाफामुखी र प्रतिस्पर्धी संस्था बनाउने प्रतिबद्धता हुनुपर्छ। सरकारी संस्थालाई राजनीतिक नियुक्ति र व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्तिले समस्या बढाएको छ। त्यसैले सक्षम र दक्ष व्यक्तिलाई सरकारी सेवाका परम्परागत मापदण्डभन्दा आवश्यकतानुसार फरक व्यवस्था गरेर पनि नेतृत्व गर्ने वातावरण बनाउनुपर्छ।’

    सांसद रानाले पीपीपी मोडालिटीमा लैजाने सरकारी योजनाबारे पनि सचेत गराए। नेपालमा सीमित उद्योगीहरूको हालिमुहाली रहेको तर्फ सङ्केत गर्दै उनले पीपीपी मोडालिटी कार्यान्वयन गर्दा पारदर्शिता र प्रतिस्पर्धालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै सीमित निजी समूहको स्वार्थमा संस्था नजाओस् भन्नेतर्फ स्पष्ट र पारदर्शी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

    नियुक्तिको परम्परागत सरकारी मापदण्डभन्दा बाहिर गएर दक्ष र व्यावसायिक व्यक्तिलाई अवसर दिने वातावरण सिर्जना नगरेसम्म यस्ता संस्थानहरूको कायापलट हुन नसक्ने उनले स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार