काठमाडौँ । एचआईभी सङ्क्रमण रोकथामका लागि वर्षमा दुईपटक मात्र लगाउनुपर्ने नयाँ औषधि लेनकापाभिरलाई पछिल्लो दशककै महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । तर औषधिको प्रभावकारिता उच्च भए पनि यसको पहुँच विश्वभर समान हुने अवस्था छैन ।
औषधिको मूल्य, पेटेन्ट, उत्पादन र आपूर्तिसम्बन्धी व्यवस्थाले विशेषगरी न्यून तथा मध्यम आय भएका देशमा यसको पहुँच चुनौतीपूर्ण बनाएको छ ।
अमेरिकी औषधि कम्पनी गिलियड साइन्सेसले विकास गरेको लेनकापाभीरलाई एचआईभी सङ्क्रमण हुनुअघि जोखिम घटाउन प्रयोग गरिने प्रि–एक्सपोजर प्रोफिल्याक्सिस (प्रि–ईपि)का रूपमा प्रयोग गर्न सकिन्छ । सन् २०२४ मा दक्षिण अफ्रिका र युगान्डाका २ हजारभन्दा बढी युवती सहभागी भएको परीक्षणमा लेनकापाभीर प्राप्त गरेका कुनै पनि सहभागीमा एचआईभी सङ्क्रमण देखिएन ।
डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)की ग्लोबल एचआईभी प्रमुख कार्लोटा बाप्टिस्टा दा सिल्भाका अनुसार यो पछिल्लो दशकमा एचआईभी क्षेत्रमा आएको सबैभन्दा नवीन उपकरणमध्ये एक हो । उनले यसलाई हालसम्म उपलब्ध एचआईभी खोपको सबैभन्दा प्रभावकारी विकल्पका रूपमा व्याख्या गरेकी छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि लामो समयसम्म प्रभाव रहने यो इन्जेक्सनलाई एचआईभी रोकथामका लागि थप प्रि–ईपि विकल्पका रूपमा सिफारिस गरेको छ । दैनिक औषधि खानुपर्ने अवस्थाको तुलनामा छ महिनामा एकपटक लगाउनुपर्ने इन्जेक्सनले नियमित औषधि सेवन गर्न कठिन हुने मानिसलाई विशेष सुविधा दिन सक्छ ।
तर औषधि कति सुलभ छ ?
लेनकापाभिरको प्रभावकारितासँगै यसको मूल्य र उपलब्धतामाथि भने ठुलो प्रश्न छ । अमेरिकामा यसको वार्षिक लागत करिब २८ हजार डलर रहेको बताइएको छ । तर यसको जेनेरिक संस्करण ठुलो मात्रामा उत्पादन भएपछि प्रतिव्यक्ति वार्षिक लागत करिब ४० डलरसम्म झर्न सक्ने अनुमान छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले सन् २०२५ जुनमा एचआईभी रोकथामका लागि लेनकापाभीरलाई स्वीकृति दिएको थियो । तर न्यून तथा मध्यम आय भएका धेरै देशमा सस्तो जेनेरिक औषधि ठुलो मात्रामा उपलब्ध हुन सन् २०२७ सम्म कुर्नुपर्ने देखिन्छ ।
गिलियडले विश्वव्यापी कोष र अमेरिककको ‘प्रेसिडेन्ट्स इमरजेन्सी प्लान फर एड्स सिलिफ (पिईपिएफएआर)’ अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि आफ्नो औषधि नाफारहित रूपमा उपलब्ध गराइरहेको छ । दक्षिण अफ्रिका, केन्या, जाम्बिया, नाइजेरिया र इस्वाटिनीजस्ता देशमा यसको प्रयोग सुरु हुँदैछ ।
तर सस्तो जेनेरिक उत्पादनका लागि गिलियडले हालसम्म छ उत्पादकलाई अनुमति दिएको छ र ठुलो स्तरको उत्पादन सन् २०२७ बाट सुरु हुने अपेक्षा गरिएको छ ।
२६ देश किन बाहिर ?
एमएसएफका अनुसार गिलियडको जेनेरिक लाइसेन्स सम्झौताबाट कम्तीमा २६ मध्यम आय भएका देश बाहिर छन् । तीमध्ये ब्राजिल, मेक्सिको, अर्जेन्टिना र पेरुजस्ता देश पनि छन् । यीमध्ये केही देशमा एचआईभी सङ्क्रमण बढिरहेको छ भने केही देशले लेनकापाभीरको परीक्षणमा समेत योगदान गरेका थिए ।
एमएसएफका अनुसार यी लाइसेन्सबाट बाहिर रहेका देशहरूले सन् २०२३ मा विश्वभर भएका नयाँ एचआईभी संक्रमणमध्ये करिब २३ प्रतिशत हिस्सा ओगटेका थिए ।
पछि गिलियडले प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनसँग छुट्टै सम्झौता गर्दै ल्याटिन अमेरिका र क्यारिबियनका १४ देशका लागि पहुँचको अर्को विकल्प पनि अघि सारेको छ । तर एमएसएफले यसले ती देशलाई स्वतन्त्र रूपमा सस्तो जेनेरिक औषधि खरिद गर्नेभन्दा गिलियडमै निर्भर बनाउने तर्क गरेको छ ।
मानवीय संकटमा झन् ठुलो चुनौती
एमएसएफले आफूले एक वर्षभन्दा बढी समयदेखि आफ्ना स्वास्थ्य कार्यक्रमका लागि गिलियडबाट प्रत्यक्ष रूपमा लेनकापाभिर खरिद गर्न खोजे पनि अनुमति नपाएको जनाएको छ । संस्थाका अनुसार युद्ध, विस्थापन वा मानवीय संकटमा रहेका मानिसका लागि यसको महत्व अझ बढी छ ।
दैनिक प्रि–ईपि गोली नियमित रूपमा खान कठिन हुने अवस्थामा छ महिनामा एकपटक लगाइने इन्जेक्सन प्रभावकारी विकल्प हुन सक्छ । द्वन्द्व वा विपत्तिमा यौन हिंसाको जोखिम बढ्न सक्ने भएकाले त्यस्ता समुदायमा एचआईभी रोकथामको आवश्यकता पनि उच्च हुन सक्छ ।
गिलियडले भने आफ्नो पहुँच रणनीतिमा नाफारहित आपूर्ति, रोयल्टीरहित लाइसेन्स र क्षेत्रीय सम्झौता समावेश रहेको जनाएको छ । कम्पनीले सन् २०२८ सम्म ३० लाख मानिसका लागि पर्याप्त लेनकापाभिर उपलब्ध गराउने योजना बनाएको बताएको छ ।
पेटेन्ट तोड्ने बाटो पनि खुला
सस्तो औषधिको पहुँच सुनिश्चित गर्न सम्बन्धित देशका सरकारसँग अर्को कानुनी विकल्प पनि छ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का नियमले सार्वजनिक स्वास्थ्यको अवस्थामा केही परिस्थितिमा पेटेन्टधारी कम्पनीको अनुमति नलिई औषधि उत्पादन वा आयात गर्न सक्ने व्यवस्था गरेको छ ।
सन् २००१ को दोहा घोषणाले पनि सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि यस्ता उपाय प्रयोग गर्ने सदस्य राष्ट्रहरूको अधिकारलाई पुष्टि गरेको थियो । ब्राजिलले सन् २००७ मा एचआईभीको औषधि एफाभीरेन्जका लागि यस्तै अनिवार्य लाइसेन्स प्रयोग गरेको थियो ।
एमएसएफले पेटेन्ट अवरोधका कारण सस्तो जेनेरिक लेनकापाभिर प्राप्त गर्न नसक्ने देशहरूले अनिवार्य लाइसेन्स, सरकारी प्रयोगसम्बन्धी अनुमति वा पेटेन्टको वैधतालाई चुनौती दिने विकल्प प्रयोग गर्न सक्ने बताएको छ ।
यसले लेनकापाभीरको बहस औषधिको वैज्ञानिक प्रभावकारिताभन्दा बाहिर स्वास्थ्य समानता र औषधिमा विश्वव्यापी पहुँचसँग पनि जोडेको छ । एचआईभी रोकथाममा ठुलो सम्भावना बोकेको औषधि वास्तवमै प्रभावकारी विश्वव्यापी उपाय बन्ने हो कि होइन भन्ने कुरा यसको उत्पादन, मूल्य र वितरण कति समान रूपमा सुनिश्चित हुन्छ भन्नेमा निर्भर रहने देखिन्छ ।



