Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कानुन निर्माणका बहस सार्वजनिक खपतका लागि मात्र नहोस् : सभापति बास्कोटा

कानुन निर्माणका बहस सार्वजनिक खपतका लागि मात्र नहोस् : सभापति बास्कोटा

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ ।  कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले विधेयक निर्माण तथा दफावार छलफलमा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुन नहुने बताएकी छन्।

    बुधवार बसेको समितिको बैठकमा बोल्दै उनले विधेयक निर्माण तथा दफावार छलफलमा ‘विधायकी मनसाय’ लाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारिन्।

    images

    कानुन निर्माणका क्रममा विधेयक किन र कुन उद्देश्यले ल्याइएको हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ। आगामी दिनमा समितिमा विधेयकको दफावार छलफल गर्दा सांसदहरूले त्यसको दीर्घकालीन प्रभावबारे गहिरो अध्ययन र छलफल गर्नुपर्नेमा उनले जोड दिइन्। समितिले विधेयक निर्माणमा आवश्यक शैक्षिक तथा अनुसन्धानमूलक पृष्ठभूमिलाई समेत आधार बनाएर छलफललाई गहिराइमा लैजानुपर्ने उनले बताइन्।

    बैठकमा बोल्दै सभापति बास्कोटाले भनिन्, ‘हाम्रा बहस सार्वजनिक खपतका लागि मात्र नभएर दीर्घकालीन रूपमा कस्तो कानुन निर्माण गर्दैछौँ, किन निर्माण गर्दैछौँ र कार्यान्वयनमा जाँदा त्यसले के परिकल्पना गरेको थियो भन्ने विषय पनि स्पष्ट हुनुपर्छ। यस्तो भएमा हामीले निर्माण गर्ने कानुन साँच्चिकै प्रभावकारी हुन्छ।’

    यस्तै समितिले तयार पारेको कारागारसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको छ। सभापति बास्कोटाका अनुसार समितिले कारागारसम्बन्धी प्रतिवेदन पारित गरिसकेको छ भने बालसुधार गृहसम्बन्धी प्रतिवेदन यसअघि नै पारित भइसकेको छ। समितिका प्रतिवेदन सदनमा पेश गर्ने अभ्यास हालसम्म प्रभावकारी रूपमा नभएको उल्लेख गर्दै उनले समितिले गरेका अध्ययन र छलफलका निष्कर्ष अब सदनमा प्रस्तुत गरिने जानकारी दिइन्।

    प्रतिनिधि सभा नियमावलीको नियम १४८ को उपनियम ११ तथा नियम १९९ बमोजिम समितिका प्रतिवेदन सदनमा पेश गर्न सकिने व्यवस्था रहेको उनले बताइन्। सभापति बास्कोटाले प्रतिवेदनको भाषिक शुद्धता तथा आवश्यक संशोधनको काम शीघ्र सम्पन्न गरी सदनमा पेश गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार