काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्व सरकारको ६ महिनाको मूल्याङ्कन ‘केही आशङ्का सहितको आशा’ जस्तो रहेको बढी अनुभूत भएको टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले बिल्कुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका कुनाकन्दरा छाम्न र सिक्न केही समय लाग्नु स्वाभाविक भएको पनि बताएका छन्।
‘परन्तु अब सरकारको मुख्य परीक्षा तीव्र आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको मुद्दामै हुनेछ’, डा.भट्टराईले भनेका छन्, ‘अब पनि दसकौँ देखिको कछुवा गतिको ‘बयलगाडे विकास’ ले मात्र रोजगारीको खोजीमा बिदेसिन बाध्य पचासौँ लाख युवाहरूको चुलिँदो आकाङ्क्षालाई सम्बोधन गर्न सक्ने छैन।’
त्यसनिम्ति केही दशकसम्म बृहत् रोजगारी सहितको दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गरेर समग्र अर्थतन्त्रले वर्तमान अति अल्पविकसित अवस्थाबाट उच्च विकसित अवस्थामा हवाई जहाज झैँ उडान भर्ने (टेक अफ) नीति तथा योजना निर्माण र कार्यान्वयन गर्नु अनिवार्य हुने भट्टराईको सुझाव छ।
‘सो लक्ष्यसाथ यो युवा नेतृत्वको सरकारले प्रम मातहत एक अधिकार सम्पन्न ‘हाई लेभल कमिसन फर इकोनोमिक टेकअफ’ वा त्यस्तै प्रकृतिको विशेष संरचना बनाएर छोटो समयमै पछिल्लो चरणको सिंगापुर, कोरिया, चीन झैँ चमत्कारिक विकास र समृद्धिको बाटो अनुसरण गर्ने साहस गर्ला ?’,प्रश्न गर्दै भट्टराईले आगामी केही महिना थप परीक्षाका महिना हुन सक्ने बताएका छन्।



