काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि असोज १८ गते रोचक संयोग परेको छ।
विगतमा असोज १८ गते नै प्रधानमन्त्रीबाट पदच्युत भएका देउवाका लागि यो पटक पनि पार्टीको १५औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएर पार्टी नेतृत्वबाट बिदाइ हुने मिति तय भएको छ।
गत पुस २७ देखि ३० गतेसम्म भएको कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवा पार्टी सत्ताबाट बाहिरिएका थिए।
आफू नेतृत्वको केन्द्रीय कार्यसमितिको सहमति बिना भएको भन्दै देउवाले त्यो विशेष महाधिवेशनलाई मानेका छैनन्। तर, यही असोज १८ गते पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गर्ने मिति तय भएको छ।
विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिले असोज १६ गते १५ औँ महाधिवेशनको उद्घाटन गर्ने मिति तय गरेको थियो । तर, असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षाले जनधनको क्षति र सड्क प्रभावित भएको भन्दै महाधिवेशनको उद्घाटन २ दिन परा सार्ने निर्णय गरेको छ।
असोज १८ गते दिउँसो १ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुने तय भएको छ।
देउवाले विशेष महाधिवेशन नमाने पनि १५औँ महाधिवेशनपछि विधानका कारणले पनि उनी सभापति बन्न पाउँदैनन्। कांग्रेस विधानमा २ कार्यकालभन्दा बढी सभापति बन्न पाइन्न । देउवा १३ र १४ औँ महाधिवेशनबाट सभापति बनेकाले विधानतः १५ औँ महाधिवेशनमा सभापति बन्न पाँउदैनन्।
कांग्रेसमा पार्टी आधिकारिकताको विषय भने सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही विचाराधीन अवस्थालाई आधार बनाएर देउवा समूहले भने छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
तथापि देउवाका लागि असोज १८ बिर्सनलायक दिन बन्ने पक्का भएको छ । वि.सं. २०५९ उनका लागि बिर्सनलायक दिनकै बनेको थियो । ०५९ असोज १८ गते देउवाको जीवन र नेपालको लोकतान्त्रिक यात्रामा एउटा ठुलो ‘संयोग’ वा ‘दुर्घटना’ घटेको थियो।
०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवा नेतृत्वको सरकारलाई ‘अक्षम’ भन्दै बर्खास्त गरेका थिए । राजा ज्ञानेन्द्रले संविधानको धारा १२७ को प्रयोग गरी देउवालाई प्रधानमन्त्री पदबाट हटाएर केही दिनका लागि कार्यकारी अधिकार आफ्नो हातमा लिएका थिए।
राजा ज्ञानेन्द्रले देउवालाई हटाउँदा तत्कालीन प्रतिनिधिसभा पनि विघटन गरिदिएका थिए । रोचक कुरा के छ भने देउवा स्वयले प्रधानमन्त्रीको रूपमा २०५९ जेठमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए।
देउवाको सिफारिस बमोजिम ०५९ जेठ ८ गते राजा ज्ञानेन्द्रले संसद् विघटन गरिसकेकाले असोज १८ गते देउवालाई प्रधानमन्त्रीबाट हटाएर शासन सत्ता आफ्नो हातमा लिएका थिए।
आफ्नै सिफारिसमा संसद् विघटन भइसकेकाले राजाको ‘अलोकतान्त्रिक’ कदमको सिकार देउवा आफै बन्नुपरेको थियो । ०५९ असोज १८ लाई नेपालका राजनीतिक दलहरूले ‘शाही कदम’ वा ‘प्रतिगमन’ भनेर विरोध गरेको दिनका रूपमा पनि अहिलेसम्म परिचित छ।
आफू प्रधानमन्त्रीबाट अपदस्त भएपछि देउवा स्वयं राजा ज्ञानेन्द्रको विरुद्धमा उभिए र तत्कालीन राजनीतिक दलहरूसँग सहकार्य गरेर राजा फाल्ने अभियानमा लागे । जसले गर्दा पछि उनले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अवसर पाए।
असोज १८ मा पद गुमाएपछि देउवाको राजनीतिक यात्रा धेरै उतारचढावपूर्ण रह्यो । राजाको शासन कालमा पटक पटक जेल जीवन व्यथित गर्न पर्यो । राजाको शासन काला सकिएपछि भने उनले पटक–पटक प्रधानमन्त्री बन्ने अवसर पाए।
०५९ असोज १८ को घटना देउवाको जीवनमा ‘सत्ता गुमेको दिन’ मात्र नभएर उनको राजनीतिक अस्तित्वमाथि नै प्रश्न चिह्न खडा भएको दिन थियो । तर, इतिहासको पाङ्ग्रा यसरी घुम्यो कि त्यही घटनाले उनलाई थप बलियो र परिपक्व राजनीतिक खेलाडीका रूपमा स्थापित गर्न मद्दत गर्यो । साधारण सदस्यता समेत नरहने गरी कारबाही भोगेको पार्टीको दुई कार्यकाल सभापति हुने अवसर पाए।



