काठमाडौँ । तीन दिनदेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेमा परेर म्याग्दीमा मात्रै ४ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । बाढी–पहिरोका कारण घरहरू भत्किएका छन् भने ४ जनाको मृत्यु भैसकेको छ । उनीहरूको शव फेला परेको र थप ४ जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिए।
‘लगातार तीन दिनदेखिको वर्षाले म्याग्दीका विभिन्न ठाउँमा धेरै घरहरूमा क्षति पुर्याएको छ,’ उनले भने, ‘जिल्लाभर हालसम्म ९ जना मानवीय क्षतिसम्बन्धी घटना भएको छ ।’ उनका अनुसार अन्नपूर्ण गाउँपालिका–३मा पहिरोमा परी मृत्यु भएकी ५५ वर्षीया जोमाया पाइजाको शव फेला परेको छ भने ७५ वर्षीया शिवकुमारी गर्बुजा अझै बेपत्ता रहेकी छिन्।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडास्थित खर्क भन्ने ठाउँमा पहिरोले पुरिएर १९ वर्षीय स्वविन चोचाङ्गीको शव भेटिएको छ भने २२ वर्षीय मनोज गर्बुजा हालसम्म बेपत्ता छन् । ‘मनोज गर्बुजाको खोजी कार्य जारी छ, उद्धार टोली घटनास्थलतर्फ जाँदैछ,’ कार्कीले भने।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–५ को तिवाङ भन्ने ठाउँमा पनि थप दुई जना बेपत्ता भएको सूचना प्राप्त भएको र उद्धार टोली घटनास्थल पुग्न बाँकी रहेको बताइएको छ । उता मालिका गाउँपालिका वडा नम्बर ३ रुम, डाँडा गाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा करिब ४० वर्षीय किरण पुन र करिब ३५ वर्षीय देवबहादुर पुन रहेका छन् । दुवै जनाको शव घटनास्थलबाट फेला परिसकेको छ।
यसैबिच, बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीको छेवारे भन्ने ठाउँमा कुमारी विक (ओली) पहिरोमा पुरिएर घाइते भएकी छिन् । उनको उद्धार भैसकेको प्रहरीले जनाएको छ । प्रशासन तथा सुरक्षा निकायले पहिरो प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।



