Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महाधिवेशन : मतदाताको टुङ्गो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन : मतदाताको टुङ्गो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन् । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो । महाधिवेशनको कार्यतालिकामा अनुसार ७ गते पालिका अधिवेशन र १० गते प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने थियो।

    केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार साँझ निकालेको विज्ञप्तिअनुसार प्रदेश सभा/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा मात्रै सम्पन्न भएको छ । १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै मतदाता टुङ्गो लाग्छ, तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने हतारो गरिरहेका छन्।

    images

    मुलुकभर गत ८ गतेदेखिको निरन्तरको वर्षाका कारण निर्वाचन समितिले १३ गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरी निर्णय गरेको छ। २ महामन्त्रीका लागि हुने निर्वाचनमा अहिलेसम्म ८ जनाले मैदानमा उत्रिने बताइसकेका छन्।

    अहिलेसम्म केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सार्वजनिक रूपमा महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन् । विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन भएमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले पनि महामन्त्रीका लागि गृहकार्य अगाडि बढाइरहेका छन्।

    महरलाई उनी प्रतिनिधित्व गर्ने डडेलधुरा जिल्लाले महामन्त्रीमा अघि सार्ने निर्णय गरेको छ । महर कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफ्नो कार्यकाल र पार्टीले २ पटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि हटाइएका थिए । त्यसपछि १४औँ महाधिवशेनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लागेका थिए । केही समय अगाडिसम्म पनि कांग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँडेका उनी पछिल्लो समय विशेष महाधिवेशनको केन्द्रीय समितिमा पुगेर महामन्त्री बन्ने योजनामा छन्।

    पार्टीका लुम्बिनी प्रदेश सभापति पुनले आफू महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको र त्यसका लागि पार्टीका नेताहरूसँग छलफल तथा समन्वय भइरहेको बताएका छन् । ‘एक तहका नेताहरूसँग छलफल र समन्वय भइरहेको छ । महामन्त्रीको तयारी भइरहेको छ । अब केही दिनमा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा हुन्छ,’ पुनले शनिबार रातोपाटीसँग भने । व्यवसायी पृष्ठभूमिका पुन लुम्बिनी प्रदेश सभापति हुनुभन्दा पार्टीको रोल्पा सभापति थिए।

    विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल र घिमिरेले पनि महामन्त्रीमा दोहोरिने प्रयास गरिरहेका छन्।नेविसंघका पूर्वअध्यक्ष पौडेलले १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा जितेका थिए । १४औँ महाधिवेशनमा उनी महामन्त्रीमा पराजित भएका थिए । उनी २०७९ सालको निर्वाचनमा काठमाडौँ –५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । जेनजी आन्दोलन अगाडिसम्म उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए।

    नेविसंघका पूर्वअध्यक्ष रहेका घिमिरे भने १४औँ महाधिवेशनमा पार्टीको कोशी प्रदेश सभापतिमा पराजित भएका थिए।

    तरुण दलका पूर्वअध्यक्ष रहेका सहमहामन्त्री राणाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थिए । उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन् । ललितपुर क्षेत्र नं १ बाट २ पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राणा अर्थराज्यमन्त्री पनि बनिसकेका छन् । राणा आफैँले भने पार्टीको आवश्यकताअनुसार निर्णय लिने बताएका छन्। ‘म अहिले सहमहामन्त्री छु । पार्टीको आवश्यकता जे छ, त्यही गर्नेछु,’ राणाले केही दिन अघि पत्रकारहरूसँगको भेटघाटमा भनेका थिए, ‘मैले यो पद, त्यो पदभन्दा पनि जिम्मेवारीमा रहेर काम गर्न खोजेको हुँ । काम गर्न पद नै हुनुपर्छ भन्ने पनि छैन । सहमहामन्त्री भइहालेँ, त्योभन्दा माथिल्लो पदमा दाबी रहनु स्वाभाविक हो।’

    पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्री वा उपसभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । यद्यपि उनले औपचारिक रूपमा घोषणा भने गरेका छैनन्।

    चालिसेले आफू १४औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार भएको, अहिले प्रवक्ता रहेकाले त्योभन्दा माथिल्लो पदमा दाबी गर्नु स्वाभाविक भएको बताए । ‘१४औँ महाधिवेशनमा सहमहामन्त्रीमा प्रतिस्पर्धा रहेको हो । अहिले प्रवक्ता भएर काम गरिरहेको छुँ । अब योभन्दा माथिको पदमा दाबी गर्नु स्वाभाविक हो । त्यो भनेको कि महामन्त्री कि उपसभापति हो,’ चालिसेले भने।

    राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले पनि महामन्त्रीमा दाबी राखेका छन् । नेविसंघका पूर्वअध्यक्ष संविधान सभा सदस्य भएका कर्ण गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भएका थिए । पेसाले इञ्जिनियर कर्ण नेविसंघमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने नेतामा पर्छन्।

    सभापति गगन थापाले भने विशेष महाधिवेशनको डिजाइनर रहेका केन्द्रीय सदस्य मधु आचार्यलाई महामन्त्री बनाउन चाहेका छन् । उनले आफू निकटका नेताहरूसँग त्यो बताइरहेका छन् । ‘मलाई सबैभन्दा पहिलाबाट सहयोग गरेको मधु दाइले हो । उहाँलाई महामन्त्री बनाउने मेरो चाहना छ,’ सभापति थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सभापतिले भनेपछि उहाँ पनि बलियो दाबेदार हो।’

    कांग्रेसमा १ सभापति २ उपसभापति २ महाममन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । निर्वाचित केन्द्रीय सदस्यमध्यबाट एक जनालाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष बनाउने विधानमा उल्लेख छ।

    विशेष महाधिवेशनपछि बनेको विधानमा ३ सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था राखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार