Oct 28 2026 | २०८३ कार्तिक १२ गते

देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको प्रतिनिधित्व सबै समितिमा अनिवार्य

देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको प्रतिनिधित्व सबै समितिमा अनिवार्य

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रसम्म सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको सहभागिता अनिवार्य गरेको छ।

    पार्टीको १५ औँ महाधिवेशन समानान्तर रूपमा गर्न लागेको समूहले बनाएको ‘निर्वाचन निर्देशिका २०८३’ ले सांगठनिक संरचनामा एउटा दूरगामी र क्रान्तिकारी परिवर्तन गरिएको भन्दै १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको सहभागिता अनिवार्य गरेको हो।

    images

    समूहले कांग्रेसको इतिहासमा पहिलो पटक ‘युवा पुस्ताको अनिवार्य उपस्थितिलाई’ नीतिगत रूपमै संस्थागत गरिएको बताएको छ।

    निर्देशिकामा गरिएको नयाँ व्यवस्थाले पार्टीभित्रको ‘जेनेरेसन ग्याप’लाई पुर्ने नेताहरू बताउँछन् । निर्देशिकामा पार्टीका वडादेखि केन्द्रसम्मका सबै समितिमा युवा सहभागितालाई ‘कोटा’का रूपमा नभई ‘अनिवार्य सर्त’का रूपमा राखिएको छ।

    निर्देशिकाको बुँदा नं. ४ को उप–बुँदा (८), (९) र (१०) मा लेखिएको छ, ‘जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति वा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि छनोट गर्दा १८ देखि २८ वर्ष उमेर समूहका १ जना महिला र १ जना पुरुष अनिवार्य समावेश गर्नुपर्नेछ।

    मात्र यति होइन, निर्देशिकाको पेज ७ मा रहेको प्रावधानमा अझ अघि बढेर लेखिएको छ, ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्ष उमेर समूहका १ जना महिला र १ जना पुरुष अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।’

    निर्देशिकामा कुनै पनि कार्यसमिति यो उमेर समूहको युवा नभएमा पद खाली राख्नुपर्ने व्यवस्था राखिएको छ । निर्देशिकामा प्रस्ट लेखिएको छ, ‘यदि कुनै स्थानमा १८ देखि २८ वर्ष उमेर समूहको युवा नभएको खण्डमा सो पद खाली राख्नुपर्नेछ र अन्य उमेर समूहका व्यक्तिले सो स्थान ओगट्न पाउने छैनन्।’

    यसले ‘युवा छैनन्’ भन्दै पन्छिने नेतृत्वलाई रोक्ने नेताहरू बताउँछन् । नेतृत्वले अनिवार्य रूपमा युवालाई खोज्नुपर्ने र उनीहरूलाई राजनीतिमा तान्नुपर्ने बाध्यता यो व्यवस्थाले गर्ने देखिन्छ।

    समूहले समावेशी समूहबाट निर्वाचित हुने प्रतिनिधिमा समेत उमेर हदलाई अनिवार्य गरेको छ । निर्देशिकाको पेज ७ अनुसार, समावेशी कोटाबाट निर्वाचित हुने व्यक्तिहरूमा समेत १८ देखि २८ वर्ष उमेरका युवालाई समेट्नैपर्ने बाध्यता छ।

    अझ, ‘विषय विशेषज्ञ’का रूपमा मनोनीत गरिने सदस्यहरूमा समेत १८ देखि २८ वर्षको उमेर समूहलाई अनिवार्य गरिएको छ । निर्देशिकामा लेखिएको छ, ‘विषय विशेषज्ञको स्थानमा पनि विषयको उपस्थिति अनिवार्य छ । यदि १८ देखि २८ वर्ष उमेर समूहको विशेषज्ञ नभएमा उक्त कोटा खाली राख्नुपर्नेछ।’

    कांग्रेसको नेतृत्वमा सधैँ पुरानै अनुहार दोहोरिएको आरोप लाग्ने गरेपछि देउवा समूहले निर्देशिकामा उक्त आरोपलाई चिर्दै तल्लो तहबाटै नयाँ पुस्तालाई समेट्ने प्रयास गरेको छ।

    १८ देखि २८ वर्षको उमेर भनेको स्नातक वा स्नातकोत्तर तह पूरा गरेको वा सीप सिक्दै गरेको ऊर्जावान उमेर भएकाले समेट्न लागिएको निर्देशिकामा उल्लेख छ । यस्तो उमेरका युवाहरूलाई नीति निर्माणको तहमा जोड्नु भनेको पार्टीलाई आधुनिक र समयानुकूल बनाउनु भएको पनि निर्देशिकामा लेखिएको छ।

    निर्देशिकाले उमेर हदलाई नै ‘बाध्यात्मक’ बनाएर युवा पुस्ताका लागि ढोका खोलिदिएको छ । तर, ‘युवा शक्ति’ र ‘अनुभवी नेतृत्व’ को सह–अस्तित्व कसरी रहन्छ भन्ने कुरा महाधिवेशनबाट चुनिने कार्यसमितिहरूले देखाउनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार