Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाढी र पहिरो प्रभावित ६ ठाउँमा सेनाको उद्धार

बाढी र पहिरो प्रभावित ६ ठाउँमा सेनाको उद्धार

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको खोज, उद्धारमा सेनाले आफ्नो सक्रियता बढाएको छ । आइतबार बाढी र पहिरो प्रभावित ६ ठाउँमा सेनाले जोखिममा परेका नागरिकको उद्धार गर्नुका साथै अवरुद्ध राजमार्गहरू खुलाएको छ।

    पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएपछि नयाँ रणभिम गुल्मबाट खटिएको सेनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्न र सरसामान जोगाउन सहयोग गरिरहेको छ।

    images

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बाढीले डुबानको जोखिम बढाएपछि नम्बर–२  वन तथा पर्यावरण सुरक्षा गणको फौजले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ। सोही जिल्लाको सुस्ता गाउँपालिका–५ मा डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट खटिएको फौजले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

    पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेपछि सैनिक टोली खोज तथा उद्धारमा जुटेको छ। चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरेमा पनि नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको फौज उद्धार तथा स्थानान्तरणमा खटिएको छ।

    धनुषाको मिथिला नगरपालिका–११, आपगाछी चुरेमा समेत पहिरोले घर पुरिएपछि सेनाको टोली खोज तथा उद्धारका लागि परिचालित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    यसैबिच बाढी र पहिरोले अवरुद्ध सडक खुलाउन पनि सेनाले पहल गरिरहेको छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आएर अवरुद्ध भएको सडक खण्डलाई काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई पूर्ण रूपमा सुचारु गराएको छ।

    देशका विभिन्न भागमा आफ्नो संयन्त्र परिचालन गर्दै नागरिकको जीउधनको रक्षाका लागि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार