काठमाडौँ । असोज दोस्रो सातामा लगातार वर्षा हुने पूर्वानुमानसँगै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सूचना जारी गरेपछि तिनाउ नदी किनारमा बसोबास गर्नेहरूमा त्रास बढ्यो । तिनाउमा पानीको बहाव बढ्नासाथ नदी किनारका बस्तीमा बस्ने परिवारहरू रातभर जाग्राम बस्नुपर्ने अवस्था आउँछ।
विशेषगरी सुकुमबासी बस्तीका स्थानीयलाई बाढीले घरमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता हुन्छ । पानीको सतह बढेपछि उनीहरू घर छाडेर सुरक्षित स्थान वा आश्रयस्थलतर्फ जानुपर्ने बाध्यता हुन्छ।
‘यहाँ बस्ने रहर होइन, बाध्यता हो,’ नदी किनारमा बस्ने स्थानीयको भनाइ छ । वर्षायाममा तिनाउ उर्लिएर आउँदा घरमै बसे पनि मनमा त्रास भइरहने बुटवल सिरानटोल, मजुवाका स्थानीय विवेक कान्दु बताउँछन्।
बाढीको जोखिम बढेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीसमेत सम्भावित दुर्घटना रोक्न तथा स्थानीयलाई सुरक्षित स्थानमा सार्न सतर्क रहनुपर्ने अवस्था हुन्छ । पटक–पटक बाढीको जोखिमबारे सूचना आउने गरे पनि नदी किनारका बस्तीको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा स्थानीयको समस्या ज्यूँका त्यूँ छ।
नदी किनारमा वर्षौंदेखि बस्दै आएका परिवारका लागि अहिलेको त्रास नयाँ होइन । हरेक वर्ष वर्षा सुरु भएपछि तिनाउको बहावसँगै उनीहरूको चिन्ता पनि बढ्ने गरेको छ।
बुटवल–५ स्थित तिनाउ नदी पुलमुनि बस्दै आएका सकिल मियाँले पनि यहाँ बस्नु आफूहरूको रहर नभएर बाध्यता भएको बताए । ‘यस्तो बाढीको जोखिममा बस्न कसलाई मन लाग्छ ?’ उनले भने, ‘अन्त जाने ठाउँ पनि छैन।’
गएराति तिनाउ नदीमा आएको बाढी र कटानले बुटवल–११ सिरानगाउँ–मजुवा क्षेत्रमा पाँच घरमा क्षति पुगेको छ। नदी कटानका कारण दुर्गादिन बनियाँको घरमा पूर्ण क्षति पुगेको छ । एकतले घरमा क्षति पुगेपछि उनी अहिले कहाँ बस्ने भन्ने चिन्तामा छन् । उनी तत्कालका लागि स्थानीयकै घरमा बसेका छन् । उनकै छिमेकी विन्दा बासी कानुले रातभर निदाउन नसकेको बताइन् । पक्की घरमै पसल सञ्चालन गर्दै आएकी उनले भनिन्, ‘घर यहीँ छ, कहाँ जाने? एक–दुई दिन अन्यत्र गएर बसेरमात्रै समस्या समाधान हुँदैन । पूरै टोल नै जोखिममा छ । रातभर खोलाको त्रासमा बस्नुपरेको छ।’
सोही क्षेत्रमा घरका दुई कोठामा क्षति पुगेका नरेन्द्र दर्जीले माथिबाट बाढी आएको जानकारी पाए पनि घर जोगाउन नसकेको बताए । उनले आफूहरू घरबारविहीन हुने अवस्थामा पुगेकाले सरकारले दीर्घकालीन रूपमा ध्यान दिनुपर्ने बताए।
‘नदीको छेउमा बसेका छौँ । अझै क्षति हुने त्रास छ । सरकारले नागरिकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘खोला छेउमा ज्यान जोखिममा राखेर बस्नुपर्ने अवस्था कसैको पनि हुनु हुँदैन।’
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले उक्त क्षेत्रका ५ वटा घर क्षति पुर्याएको छ । २ घर पूर्णरूपमा र अन्यमा आंशिक क्षति पुगेको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ नदीको जोखिममा रहेका नागरिकलाई विद्यालयलगायत सुरक्षित स्थानमा सारिएको बताए । अप्ठ्यारो अवस्थामा नगरपालिकाले दिनरात खटिएर सहयोग गरिरहेको उनको भनाइ छ।
उनका अनुसार जोखिमको अवस्था लामो समय नरहे पनि तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । सुरक्षित स्थानमा सारिएका नागरिकका लागि खाने, पिउने पानी, औषधि तथा उपचारको व्यवस्था मिलाइएको उनले बताए।
मेयर पाण्डेयले हाटबजार लाइन पछाडिदेखि मगरघाटसम्म तिनाउ नदी किनारमा बसोबास गर्ने नागरिक विशेष रूपमा सचेत र सतर्क रहनुपर्ने बताए । नदीको बहाव बढ्ने समयमा जोखिम क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा नगरपालिका सक्रिय रहेको उनले बताए।
पुलमुनिको घर छाडेर विद्यालयमा आश्रय
तिनाउ नदीमा पानीको बहाव बढेपछि बुटवल उपमहानगरपालिका–५, तिनाउ पुलनजिक सुकुमबासी बस्तीमा बस्दै आएकी ७६ वर्षीया तारा थापा घर छाडेर कान्ति माध्यमिक विद्यालयको आश्रयस्थलमा पुगेकी छन्।
दुई छोरी र एक नातिसहित बस्दै आएकी थापा नदीमा पानीको बहाव बढेपछि घरमा बस्न जोखिम हुने भन्दै आश्रयस्थलमा आएकी हुन् । ‘म बुढी मान्छे, खोलो आयो भने कहाँ भाग्नु ? राति आयो भने झन् समस्या हुन्छ । राम्रोसँग आँखा पनि देखिँदैन,’ उनले भनिन्।
केही दिनदेखि विद्यालयमै बसिरहेकी थापाका अनुसार सामान्य अवस्थामा सुकुमबासी बस्तीमा बस्न समस्या हुँदैन, तर वर्षायाममा तिनाउ नदीमा पानीको बहाव बढ्न थालेपछि हरेक वर्ष त्रासमा बस्नुपर्छ।
‘ठुलो पानी पर्छ भन्ने थाहा पाएपछि घर नै छाडेर यहाँ आएका छौँ,’ उनले भनिन्, ‘अब कहिले घर फर्किने भन्ने चिन्ता छ। यहाँ सुरक्षित त छौँ, तर फेरि घर फर्किएपछि काम गरेर खानुपर्छ।’
थापा जस्तै तिनाउ पुलमुनि बस्दै आएका ३८ वर्षीय नवीनकुमार परियार पनि अहिले कान्ति माध्यमिक विद्यालयमा रहेको आश्रयस्थलमा छन्।
पुलमुनि उनको घर बनेको दुई दशकभन्दा बढी भइसकेको छ । बजारमा कपडा सिलाउने र मजदुरी गरेर परिवार पाल्दै आएका परियारका लागि तिनाउको बाढी नयाँ जोखिम भने होइन । ‘तिनाउ नदी बढेर आउँदा घरसँगै हामीलाई पनि बगाउने हो कि भन्ने डर हुन्छ,’ उनले भने, ‘अहिले विद्यालयमा आएर बसेका छौँ । यहाँ सुरक्षित महसुस भएको छ। नगरपालिकाले यहीँको क्यान्टिनबाट खानाको व्यवस्था गरेको छ।’
परियारका अनुसार केही वर्षअघि राति तिनाउ नदीमा पानीको बहाव अत्यधिक बढेपछि बिहान करिब ४ बजे उठेर कृष्ण मन्दिर पुगेका थिए । त्यसबेला परिवारलाई सुरक्षित राख्न सफल भएको घटना अहिले पनि उनको स्मृतिमा ताजै छ।
लगातार वर्षापछि बुटवलमा तिनाउ नदी आसपास जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बुटवल–४ का वडाध्यक्ष नरिश्वर पौडेलका अनुसार जोखिममा रहेका स्थानीयलाई कान्ति माध्यमिक विद्यालयमा ल्याएर राखिएको छ।
विद्यालयका कक्षाकोठामा म्याटलगायत आवश्यक सामग्रीको व्यवस्था गरी सुत्ने प्रबन्ध मिलाइएको छ । वडाले खर्च व्यहोर्ने गरी विद्यालयको क्यान्टिनबाट खानाको समेत व्यवस्था गरिएको पौडेलले बताए।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि बुटवल हाटबजार पछाडि र तिनाउ पुलमुनि बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । गत राति तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका केही परिवार मन्दिर तथा विद्यालयमा समेत गएर बसेका थिए।
अहिले पानी केही कम भएपछि स्थानीय घरतर्फ फर्किन थालेका छन् । तर लगातार वर्षा भइरहेकाले तिनाउ नदी किनार तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दामा भने त्रास कायमै छ।
नदीको तटबन्ध बलियो बनाउन स्थानीयको माग
तिनाउ नदीको कटान र बाढीको जोखिम बढेपछि बुटवल–११ सिरान गाउँ, मजुवाका स्थानीयले नदीको किनारमा दीर्घकालीन सुरक्षाका संरचना निर्माण गर्न माग गरेका छन्।
मजुवाकी विन्दाकासी कानुले वर्षौंदेखि दुःख गरेर घर बनाएको र अन्यत्र जाने ठाउँ नभएकाले नदीकै जोखिमका बिच बस्न बाध्य भएको बताइन् । उनले नदीमा आरसीसी पर्खाल तथा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित बनाउन सरकारसँग माग गरिन् । ‘यो एकपटकको त्रास होइन, हरेक वर्ष हुने त्रास हो,’ उनले भनिन्, ‘सरकारले यो ठाउँलाई सुरक्षित बनाइदिनुपर्छ।’
बुटवल–११ का स्थानीय समाजसेवी कृष्ण खरेलका अनुसार तिनाउ नदी पहाडबाट तराईतर्फ झर्ने भएकाले बुटवल क्षेत्रमा नदीको बहाव तीव्र हुने गरेको छ । योगीकुटीसम्मको क्षेत्रमा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए।
उनले नदीको बिच–बिचमा चेकड्याम निर्माण गर्नुका साथै दुवैतर्फ मेसिनरी वालसहितका बलिया संरचना बनाउनुपर्ने सुझाव दिए । बर्सेनि ग्याभिन तारका नाममा बजेट खर्च भए पनि त्यसले दीर्घकालीन समाधान दिन नसकेको उनको भनाइ छ । ‘हरेक वर्ष राज्यको करोडौँ रुपैयाँ खोलाले बगाउने र स्थानीय बासिन्दा सधैँ त्रासमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,’ खरेलले भने, ‘अब तत्कालीन रूपमा होइन, दीर्घकालीन योजना बनाएर सरकारले तिनाउ नियन्त्रणमा ध्यान दिन आवश्यक छ।’



