काठमाडाैँ । चितवनको मुग्लिनतर्फबाट मनकामना केवलकार जाने पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि सवारीसाधनको आवागमन प्रभावित भएको छ।
मनकामना केवलकारले सूचना जारी गर्दै पहिरोका कारण सवारीसाधनहरू साविकको पार्किङस्थलसम्म जान नसक्ने जनाएको छ। यात्रुहरूले भने पैदल मार्ग प्रयोग गर्नुपर्नेछ।
पूर्वतर्फबाट आउने यात्रुहरूका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक सवारी पार्किङको व्यवस्था गरिएको केवलकारले जनाएको छ।
मौसम अनुकूल हुनासाथ सडक मर्मतको काम तीव्र गतिमा अघि बढाइने जानकारी दिइएको छ। यसैबीच, मनकामना केवलकार सेवा भने पूर्ण रूपमा सुरक्षित र सञ्चालनमा रहेको कम्पनीले स्पष्ट पारेको छ।
राजमार्ग सञ्चालनमा आएलगत्तै वा यात्रुहरू आउनासाथ केवलकार सेवा निरन्तर सञ्चालनमा रहने मनकामना केवलकारले जनाएको छ।
कम्पनीले यात्रु तथा सर्वसाधारणलाई सहयोग र समझदारीका लागि आग्रह गर्दै धन्यवादसमेत व्यक्त गरेको छ।



