काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमा क्षति भएको छ। २० केभी प्रसारण लाइनमा क्षति पुग्दा ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको प्राधिकरणले जनाएको छ।
उक्त प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत जोड्ने दाना–कुश्मा खण्डमा क्षति पुगेपछि उक्त करिडोरमा जोडिएका १२ वटा जलविद्युत आयोजनाको विद्युत् प्रवाह ठप्प भएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीद्वारा हालै निर्माण सम्पन्न भई परीक्षणमा आएको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनासहित निजी क्षेत्रका अन्य ठुला तथा साना आयोजनाहरूबाट विद्युत् उत्पादन रोकिएको छ।
उत्पादन बन्द भएका आयोजनाहरूमा ७१ मेगावाट निलगिरी–२, ४८.५ मेगावाट माथिल्लो राहुघाट, ४२ मेगावाट मिस्त्री खोला, ४० मेगावाट राहुघाट (नेविप्रा सहायक कम्पनी), ३८ मेगावाटको निलगिरी–१, ३५.५ मेगावाट राहुघाट मंगले, २२.५ मेगावाट माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला, १४ मेगावाट घारखोला, १३.६ मेगावाटको थापाखोला, ६ मेगावाट रेलेखोला र ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजनामा ठप्प भएका छन्।
एकै पटक ३५८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) बाट बाहिरिँदा प्रणाली व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
निरन्तरको वर्षा र पहिरोका कारण प्रसारण लाइनको संरचनामा क्षति पुगेको र बिग्रेको स्थान पहिचान गरी मर्मत टोली खटाउने तयारी भइरहेको बताइएको छ । मौसममा सुधार आउनासाथ प्रसारण लाइन मर्मत गरी विद्युत् सेवा यथाशक्य चाँडो सुचारु गर्ने प्रयास भइरहेको छ।



