काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित वाराणसीको ‘अपना घर आश्रम’मा पछिल्लो एक वर्षमा ५५ जना वृद्ध वृद्धाको मृत्यु भएको छ । आश्रमका सञ्चालकका अनुसार उनीहरू जीवित हुँदा आफन्तले चासो नदिए पनि मृत्यु भएपछि भने कतिपय आफन्त शव लिन आश्रम पुग्ने गरेका छन्।
यसको पछाडि बीमा रकम, सम्पत्ति तथा जमिनमाथिको दाबी मुख्य कारण हुने गरेको आश्रमको दाबी छ। आश्रमका सञ्चालक डा. के. निरञ्जनका अनुसार कतिपय परिवारका सदस्य आफ्ना वृद्ध आमाबुबाको स्वास्थ्य अवस्था बुझ्नसमेत आश्रम आउँदैनन् । तर मृत्यु भएपछि बीमा दाबी गर्न वा सम्पत्तिमा आफ्नो अधिकार प्रमाणित गर्न आवश्यक पर्ने भएकाले शव लिन आउने गरेका छन्।
कतिपय आफन्त भने अन्त्येष्टि भइसकेपछि शव लिन नआएर मृत्यु प्रमाणपत्र मात्रै लिन आउने गरेको पनि आश्रमले जनाएको छ।
आश्रमका अनुसार केही वृद्धवृद्धालाई उनीहरू जीवितै छँदा परिवारका सदस्यले आश्रममा छाडेर जाने गरेका छन् । मृत्यु भएपछि भने उनीहरूको सामान, पैसा, गहना र कपडासमेत लैजाने कोसिस गर्ने गरेका छन् । आश्रमले भने त्यहाँ आउने प्रत्येक व्यक्तिको सामान सुरुदेखि नै ट्याग गरेर राख्ने र त्यसको तस्बिरसमेत खिचेर रेकर्ड राख्ने गरेको जनाएको छ।
महिलाका हकमा झन् जटिल अवस्था
आश्रमका अनुसार कुनै महिला वृद्धाको मृत्यु भएपछि शव कसले लैजाने भन्ने प्रश्नसमेत जटिल बन्ने गरेको छ । कतिपय अवस्थामा माइती, ससुराली र पतिसमेत शव लैजान अस्वीकार गर्ने गरेका छन् । आश्रमले आफन्तलाई बोलाउन फोन गर्दा विभिन्न बहाना बनाउने गरेको डा. निरञ्जनले बताएका छन्।
आश्रममा अहिले करिब २७५ महिला बसिरहेको जनाइएको छ । डा. निरञ्जनले १०५ वर्षीया एक महिलाको उदाहरण दिँदै उनले सौतेनी छोरालाई धर्मपुत्रका रूपमा हुर्काए पनि अहिले ती छोरा आमालाई भेट्न आउन अस्वीकार गरिरहेको बताए । ती पुरुषले आफू चौरसिया समुदायको र आमालाई ब्राह्मण भएको भन्दै आफू उनको छोरा कसरी हुन सक्ने प्रश्न गरेको डा. निरञ्जनको भनाइ छ।
दुबईमा रहेका छोरा, मृत्यु भएपछि शव लिन आए
आश्रममा रहेका ६५ वर्षीय एक वृद्धलाई वाराणसीको बेनियाबाग क्षेत्रमा लावारिस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो । उनी करिब एक वर्षदेखि आश्रममा बस्दै आएका थिए।
ती वृद्धका छोरा दुबईमा रोजगारीमा थिए । वृद्ध बिरामी भएपछि आश्रमले छिमेकमा रहेका एक आफन्तलाई पटक–पटक जानकारी गराएको भए पनि उनी भेट्न आएनन् । वृद्धको मृत्यु भएपछि भने दुबईमा रहेका छोरा दुई दिनपछि वाराणसी आएर शव लिएर गएको आश्रमले जनाएको छ।
तीनवटा सुनचाँदी पसल र पाँच बिघा जमिन
दरभंगाका ७० वर्षीय एक सुनचाँदी व्यवसायी परिवारसँग असन्तुष्ट भएर जीवनको अन्तिम समय बिताउन काशी आएका थिए । केही समयपछि उनी गंगाको किनारमा घाट नजिक बेहोस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो।
आश्रममा करिब छ महिना बिताएपछि उनले आफ्नो परिवारसँग सम्बन्धित सम्पत्तिबारे जानकारी दिएका थिए । उनका अनुसार गाउँमा तीनवटा सुनचाँदीका पसल र पाँच बिघा जमिन थियो । उनी बिरामी हुँदा परिवारका सदस्य उनलाई भेट्न नआएको तर मृत्यु भएपछि भने आफन्त शव लिन आश्रम पुगेको आश्रमको भनाइ छ।
५० लाखको बीमा भएका वृद्ध
देवरियाका ६० वर्षीय एक वृद्ध जमिनदार परिवारका थिए । उनले आफ्नै नाममा ५० लाख भारतीय रुपैयाँको बीमा गराएका थिए । उनी तीन वर्षदेखि आश्रममा बस्दै आएका थिए।
बीचमा बिरामी भएर अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदा छोरा भेट्न नआएको आश्रमले जनाएको छ । तर वृद्धको मृत्यु भएको भोलिपल्टै छोरा आएर शव लिएर गएको बताइएको छ।
आश्रमका सञ्चालकले यस्ता घटनाले वृद्धवृद्धाप्रतिको पारिवारिक जिम्मेवारी र सामाजिक सम्बन्धबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनीहरूका अनुसार जीवित छँदा हेरचाह नगर्ने तर मृत्यु भएपछि सम्पत्ति, बीमा वा अन्य कानुनी प्रयोजनका लागि मात्रै बा–आमा वा आफन्तको शव खोज्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ।



