काठमाडौँ । मनाङको तालगाउँ अहिले डुबानमा छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण ताल गाउँका धेरै घरहरू डुबानमा परेका नासाे गाउँपालिकाका वडाध्यक्ष मिनराशी गुरुङले जानकारी दिए । ‘यहाँका धेरै घरमा बाढी पसेको छ । फोन पनि छैन, नेटवर्क केही चल्दैन,’ उनले भने, ‘हामी सबै गाउँमा अल्झिएका छौँ । प्रशासनलाई खबर पुर्याइदिनू।’
आइतबार बिहान सम्पर्कमा आएका अध्यक्ष गुरुङले बस्ती डुबानमा परेपनि अहिलेसम्म स्थानीयलाई स्वास्थ्य चौकी र विद्यालयको भवनमा सुरक्षित राखिएको जानकारी दिए । ‘अहिलेसम्म सबै सुरक्षित हुनुहुन्छ । सबैलाई स्कुल र स्वास्थ्य चौकीको भवनमा राखिएको छ,’ उनले भने, ‘मर्स्याङ्दी झन् झन् ठुलो भइरहेको छ।’
बहाव बढ्ने क्रममा रहेकोले गाउँको अवस्था अझै गम्भीर हुन सक्ने उनको गुनासो छ। ‘अहिले नेवटर्क र विजुली केही पनि छैन । अस्तिको ब्याकअपका कारण एकछिन खोलेर चलाएको हो,’ उनले भने, ‘यो पनि सकिने अवस्थामा पुगेको छ । अब हाम्रो सम्पर्क कसैसँग हुँदैन ।’ मनाङमा शनिबारदेखि नै सबैको फोन अफ भैसकेको छ।
प्रशासन र प्रहरी पनि तालगाउँसम्म पुग्न सक्ने अवस्था बनेको छैन । गाउँ जाने बाटोहरु बगाइसकेको छ । ताल गाउँ २०७८ को बाढीमा पनि पूरै डुबानमा परेको थियो । केही समयअघि मात्रै पुनः निर्माण पूरा भएको हो । स्थानीय अगुवा राजन गुरुङले कसैसँग पनि सम्पर्क हुने अवस्था नरहेको बताए । ‘सबै गाउँमै हुनुहुन्छ । कसैसँग सम्पर्क भएको छैन,’ उनी भन्छन्, ‘तलतिरबाट जान सक्ने अवस्था पनि छैन, चामेबाट पनि कोही आउन मिल्ने अवस्था छैन।’
दुबैतिरको नाका अहिले पूर्णतः ठप्प अवस्थामा छ । स्थानीय सरकार आफै समस्यामा रहेकोले संघ र प्रदेशसम्म खबर पुर्याइदिन वडाध्यक्ष मिनराशी गुरुङको आग्रह छ।



