Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सगरमाथा रोयल्टी विवादमा हिरा बहादुरको बयान : ४ गीतको कारोबार हो, ६० लाख ठगी गरेको छैन

सगरमाथा रोयल्टी विवादमा हिरा बहादुरको बयान : ४ गीतको कारोबार हो, ६० लाख ठगी गरेको छैन

शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । सगरमाथा डिजिटल प्रा.लिका सञ्चालक हिरा बहादुर केसीले गीतकार शशि शर्मा मजगैयाँको सिर्जना अनधिकृत रूपमा प्रयोग नगरेको र कुनै ठगी नगरेको बताएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर भएको प्रतिलिपि अधिकार तथा ठगी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा केसीले आफ्नो बयानमा यस्तो बताएका हुन्।

    अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा केसीले जाहेरवाला मजगैयाँसँग आपसी समझदारी र करार सम्झौता गरेर नै गीतका शब्दहरू खरिद गरिएको दाबी गरेका छन् । आफूले खरिद गरेका ती शब्दहरूमा अन्य व्यक्तिहरूबाट सङ्गीत संयोजन गराई गीत उत्पादन तथा प्रसारण गरेको उनको भनाइ छ। बयानमा केसीले गीतहरू अत्यधिक प्रसारण भई स्रोतामाझ लोकप्रिय भएपछि विवाद सुरु भएको बताएका छन्।

    images

    ‘जाहेरवालासँग काम गर्दै जाँदा उहाँका शब्द रहेका गीतहरू धेरै नै प्रसारण भई श्रोताहरूले सुनेपश्चात् जाहेरवालाले सहमति बमोजिमको रकम मात्र प्राप्त भएको र मैले प्रचार–प्रसार गरी फाइदा समेत भएपछि थप रकम माग्ने तथा करार रद्द गरी गीत फिर्ता माग्नुभएको हो’, केसीले बयानमा अगाडि भनेका छन् ‘मैले गीत फिर्ता नगरेपछि उहाँले म विरुद्ध झुट्टा जाहेरी दिनुभएको हो।’

    जाहेरवालाले आफ्ना दर्जनौँ गीत अनधिकृत रूपमा प्रयोग गरेको आरोप लगाए पनि केसीले भने आफूले जम्मा ४ वटा गीत मात्र सम्झौता गरेर लिएको दाबी गरेका छन् । उनका अनुसार सम्झौता गरिएका गीतहरू ‘तिम्रै यादमा’, ‘तिम्रो माया मेरो माया’, ‘मलाई बिच बाटोमा’, ‘माया के हो’ हुन् । यीमध्ये ‘तिम्रो माया मेरो माया’को शब्दबापत रु. ५,००० र ‘तिम्रै यादमा’को रु. ५०,००० नगदै भुक्तानी गरिएको तथा बाँकी दुई वटा गीत रोयल्टीको आधारमा खरिद गरिएको केसीले बयानमा बताएका छन्।

    जाहेरवालाले ६० लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघात गरेको भनी दिएको दाबीलाई अस्वीकार गर्दै केसीले आफूले कसैलाई झुटो आश्वासन नदिएको बताएका छन् । आफूले विना अनुमति कसैको पनि गीत–सङ्गीत प्रसारण नगर्ने गरेको दाबी गर्दै उनले यो विषय विशुद्ध दुई पक्षबिचको व्यावसायिक तथा कारोबार सम्बन्धी विवाद मात्र भएको  बयान दिएका छन्।

    अभियोग पत्रमा के छ ?

    यता सरकारी वकिल कार्यालय,काठमाडौँले अदालतमा दर्ता गरेको अभियोग पत्रमा भने के.सीले मजगैयाँका ४८ वटा गीत–गजल अनधिकृत रूपमा बिक्री–वितरण गरी रोयल्टी तथा आम्दानी लुकाएको उल्लेख छ।

    म्युजिक नेपालबाट प्राप्त आधिकारिक विवरण अनुसार ३९ लाख २४ हजार ४९७ रुपैयाँ बराबरको आर्थिक लाभ लिएको देखिएको भन्दै केसीविरुद्ध प्रतिलिपि अधिकार ऐन, २०५९ र मुलुकी अपराध संहिता, २०७४ बमोजिम कैद, जरिवाना, बिगो र उचित क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार