Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फोहोर व्यवस्थापनलाई विकास न्याय,वातावरणीय न्याय र सामाजिक न्यायको संगम बनाऔँ : सचेतक परियार

फोहोर व्यवस्थापनलाई विकास न्याय,वातावरणीय न्याय र सामाजिक न्यायको संगम बनाऔँ : सचेतक परियार

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नहेरी चक्रीय अर्थतन्त्र, रोजगारी र वातावरणीय न्यायसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथिको छलफलमा सचेतक परियारले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमै कार्यान्वयन गर्न विधेयक महत्त्वपूर्ण हुने बताए।

    images

    परियारले भने, ‘दशकौँदेखि हामीले फोहोरलाई केवल दुर्गन्ध मात्रै ठान्यौँ, तर अब यसलाई चक्रीय अर्थतन्त्रको मेरुदण्ड र सम्पत्तिको नयाँ स्रोतका रूपमा हेर्नुपर्छ।’

    उनले आफ्नो आँगन सफा गरेर फोहोर छिमेकीको ढोकामा थुपार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । परियारका अनुसार विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको जिम्मेवारी स्पष्ट गर्दै ‘शून्य फोहोर’को अवधारणालाई संस्थागत गर्ने आधार तयार गरेको छ।

    उत्पादकलाई आफ्नो उत्पादनबाट सिर्जित फोहोरप्रति जिम्मेवार बनाउने विस्तारित उत्पादक जिम्मेवारी र ‘प्रदूषकले नै मूल्य चुकाउनुपर्ने’ सिद्धान्तलाई विधेयकका महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

    ‘फोहोरलाई मोहरमा बदल्न सकिन्छ,’ उनले भने, ‘प्राङ्गारिक मल, ऊर्जा र कच्चा पदार्थ उत्पादन गर्न सके हजारौँ युवाले स्वदेशमै आत्मसम्मानपूर्ण हरित रोजगारी पाउन सक्छन्।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार