Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इन्द्रजात्राका सम्पूर्ण गतिविधि र रथयात्राको रुट अब मोबाइल एपमै

इन्द्रजात्राका सम्पूर्ण गतिविधि र रथयात्राको रुट अब मोबाइल एपमै

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । काठमाडौँमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब मोबाइल एपमार्फत हेर्न र जानकारी लिन सकिने भएको छ।

    काठमाडौँ महानगरपालिका र ‘गल्ली म्याप’ को सहकार्यमा मोबाइलबाटै इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था मिलाइएको हो।

    images

    काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘गल्ली म्याप’ मार्फत इन्द्रजात्राका सम्पूर्ण विवरण सर्वसाधारणले सहजै प्राप्त गर्न सक्ने बताएकी छन्। इन्द्रजात्राका क्रममा ३१ वटा परम्परागत गुठीसहित विभिन्न क्लब, सङ्घसंस्था तथा सांस्कृतिक समूहको सहभागिता रहने भएकाले जात्राका गतिविधि उपत्यकाका विभिन्न स्थानमा एकैसाथ सञ्चालन हुने गर्छन्। इन्द्रजात्रामा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्राका साथै लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत विविध सांस्कृतिक नाच तथा झाँकी प्रदर्शन गरिन्छ। ती सम्पूर्ण गतिविधि कुन समयमा र कुन स्थानमा भइरहेका छन् भन्ने यथार्थ विवरण एपबाटै थाहा पाइनेछ।

    ‘गल्ली म्यापसँग हामीले सहकार्य गरेको यो चौथो पटक हो,’ कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘इन्द्रजात्रा धेरै पक्ष र गतिविधि समेटिएको एउटा ठूलो स्ट्रिट फेस्टिभलजस्तै हुन्छ, तर ती गतिविधि कहाँ र कहिले भइरहेका छन् भन्ने कुरा धेरैलाई थाहा हुँदैनथ्यो।’

    अतीतको अनुभव स्मरण गर्दै उनले थपिन्, ‘विगतमा हामी कुनै चोकमा बसेर रथ वा लाखे आउने समय कुरेर बस्ने गर्थ्यौँ, कुन रुटमा छ वा कहाँ पुग्यो भन्ने जानकारी हुन्नथ्यो। तर अब गल्ली म्यापमार्फत कसैलाई सोधिरहनु नपर्ने गरी कुन गतिविधि कहाँ भइरहेको छ भन्ने सजिलै हेर्न सकिनेछ।’

    यस वर्ष एपमा ट्राफिक व्यवस्थापनका विवरणसमेत थप गरिएको उनले जानकारी दिइन्। जात्राका कारण प्रभावित हुने सडक रुट, सम्भावित ट्राफिक जाम र वैकल्पिक मार्गका बारेमा एपले जानकारी दिनेछ। यसका साथै जात्रा अवलोकन गर्न आउने नागरिकका लागि खानेपानी पाइने स्थान र सार्वजनिक शौचालयको अवस्थितिसमेत नक्सामा समावेश गरिएको छ।

    प्रविधिको प्रयोगले समय अभाव भएका दर्शकलाई पनि आफ्नो रुचिअनुसारका सांस्कृतिक गतिविधि छनोट गरी अवलोकन गर्न सहज हुने महानगरको विश्वास छ। कार्यक्रममा गल्ली म्यापका सह-संस्थापक रामविक्रम महर्जनले तयार पारिएको नयाँ मोबाइल एप कार्यवाहक प्रमुख डङ्गोललाई हस्तान्तरण गर्दै यसका प्राविधिक विशेषताबारे जानकारी गराएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार