काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको आर्थिक चलखेल, कूटनीतिक नियोगमा विवादित नियुक्ति र बजारको चरम मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको शून्य समयमा धारणा राख्दै उनीहरूले देशमा सुशासनको खडेरी परेको भन्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
बैठकको शून्य समयमा बोल्दै सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति र सरुवा-बढुवामा बिचौलियाको सेटिङ रहेको आरोप लगाउँदै यसमाथि गम्भीर छानबिन गर्न माग गरे। मन्त्रीहरूकै नाम जोडेर सार्वजनिक भएको अडियो संवादले निजामती प्रशासनमा मौलाएको भ्रष्टाचारलाई छर्लङ्ग पारेको दाबी उनले गरे।
कूटनीतिक मर्यादा र सुशासनका विषयमा सांसद मदनकुमारी शाहले गम्भीर प्रश्न उठाइन्। स्थायी बसोबास (पीआर) लिएका व्यक्तिलाई राजदूत नियुक्त गर्नु राष्ट्रिय हितविपरीत हुने भन्दै जापानका लागि नियुक्त राजदूतको विषयमा उनले सरकारसँग स्पष्ट जवाफ मागेकी छन्।
सांसद युवराज शर्माले वर्तमान सरकार पूर्णतः असफल भएको टिप्पणी गर्दै राज्यका हरेक संयन्त्रमा अस्तव्यस्तता छाएको दाबी गरे। अर्का सांसद भुवनबहादुर सुनारले सरकारको आलोचना गर्नेहरूमाथि दमन गरिएको आरोप लगाउँदै अधिनायकवादी बाटो रोज्न खोजिएको भन्दै चेतावनी दिए।
प्राकृतिक विपद् र सुरक्षाका विषयमा पनि सांसदहरूले जोडदार आवाज उठाएका छन्। सांसद तुलप्रसाद विश्वकर्मा र मदनकुमारी शाहले भोटेकोशी बाढीपीडितको राहत र संसदीय अनुगमन टोलीमा राष्ट्रिय सभाको समेत प्रतिनिधित्व हुनुपर्ने माग राखे। सांसद नरबहादुर विष्टले सुर्खेतको चौकुनेमा सर्पदंशका कारण भइरहेको मृत्यु रोक्न तत्काल औषधिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। कीर्तिपुरमा भएको गाडी आगजनी प्रकरण र सुरक्षाकर्मीको कार्यशैलीबारे सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रश्न उठाएकी छन्।
जलवायु परिवर्तनको संकट टार्न आदिवासीहरूको परम्परागत ज्ञान र सीपलाई उपयोग गर्नुपर्नेमा सांसद सुरेशकुमार आले मगरले जोड दिए। चाडपर्वको मुखमा भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तथा बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन सांसद सोनम गेल्जेन शेर्पाले सरकारको ध्यानाकर्षण गराए।



