Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जेनजी थुनुवा अभिभावक सङ्घर्ष समितिले भन्याे– हाम्रा आफन्त तत्काल नछुटे आन्दोलन गर्छौँ

जेनजी थुनुवा अभिभावक सङ्घर्ष समितिले भन्याे– हाम्रा आफन्त तत्काल नछुटे आन्दोलन गर्छौँ

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । जेनजी थुनुवा अभिभावक सङ्घर्ष समितिले आफ्ना आफन्तहरूलाई दसैँ अगाडि मुद्दा खारेज गरी कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरूका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

    सङ्घर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे।

    images

    कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सय जना धरौटीमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक सङ्घर्षमा सहभागी हुनेलाई मुद्दा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । “जेनजीका मुद्दाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनीहरूलाई सम्मान गर्नुपर्छ अन्यथा गलत नजिर बस्छ” कार्कीले भने।

    समितिका कास्की जिल्ला संयोजक खली थापा आफू स्वयम २१ दिन हिरासतमा बसेर २ लाख धरौटीमा छुटेको जानकारी दिए । उनले आफू परिवर्तनका लागि सडकमा निक्लेको भरमा आफूलाई जघन्य अपराधी जस्तै व्यवहार गरियोप्रति रोष व्यक्त गरे।

    कास्कीका विवेक नाल्मीका १३ वर्षको नाबालक छोरा १० महिनादेखि हिरासतमा रहेको जनाए । उनले कोही सरकारमा गएर शासन गर्ने र मेरो नाबालक छोरा जस्तै सयौँ जेलमा राखेर भविष्य बरबाद गर्ने विषयले निकै निराश बनाएको बताए ।  “जसले सङ्घर्ष गरे उनैको योगदानबाट सत्तामा पुग्नेहरूले उनैलाई अपराधी जस्तै गरिएको व्यवहार सह्य छैन, यदि यस्तै हो भने हरेक मन्त्रीदेखि सांसदसम्मको भिडियो सार्वजनिक गर्न बाध्य हुनेछौँ” नाल्मीले चेतावनी दिए।

    काठमाडौँ बुढानीलकण्ठका रामलाल श्रेष्ठले आफ्नो छोरा सुसम श्रेष्ठ पनि ११ महिनादेखि थुनामा रहेको जानकारी दिए।

    काठमाडौँकी दिलकुमारी श्रेष्ठले आफ्नो भाइ राजेन्द्र श्रेष्ठ जो ८ महिना १५ दिन हिरासत बसेर १० लाख धरौटीमा छुटेको जानकारी दिइन्।

    कास्कीकी शान्ति शाहीका श्रीमान् दिपु शाही ११ महिनादेखि हिरासतमा रहेको जनाउँदै तत्काल नछाडे सङ्घर्ष गर्ने चेतावनी दिइन्।

    पर्साकी अञ्जना श्रेष्ठले आफ्नो २० वर्षको छोरा करिब एक वर्षदेखि हिरासतमा रहेको बताउँदै, जेनजी आन्दोलनमा सहभागी भएकै कारण थुनिनु परेको सबैको मुद्दा खारेज गरी ससम्मान रिहा गर्न माग गरिन्।

    ओखलढुङ्गाकी उमा खत्रीले २३ वर्षको छोरा, सिन्धुपाल्चोकका दावा लामाको भाइ, कैलालीकी देवसरा भण्डारीको छारा अनुपम भण्डारी, दोलखाका पूर्ण तामाङका छोरा र कास्कीकी फूलमाय गुरुङका रुपेश थापामगर जेलमा रहेको बताउँदै उनीहरूले मुद्दा खारेज गरी निसर्त रिहाइको माग गरे।

    सो कार्यक्रममा राष्ट्रिय जेनजी नागरिक अभियान संयोजक सुनिल सिंहले थुनुवा अभिभावकको माग र सङ्घर्षमा साथ दिन प्रतिबद्धता जाहेर गरे।

    कार्यक्रममा जोगबहादुर तामाङ, जर्मे शाही, नवराज गुरुङ, पूर्ण तामाङ, खुसी बम्जङ, रेनु खड्की, राजिव गुरुङ, बिना माल्ल, सोम गुरुङ, राजन श्रेष्ठ, दिपा नगरकोटी, नारायण श्रेष्ठ र भूपेन्द्र पौडेलगायतले आफ्ना आफन्त रिहा गर्न माग गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार